आज:  | Tue, 16, Apr, 2024

हैजाको सङ्ख्या १४ पुग्यो ललितपुरमा बढ्यो खतरा

२०७९, १५ असार बुधबार २०:३२ मा प्रकाशित ( १ साल अघि) ४००० पाठक संख्या

काठमाडौं, असार १५ गते। काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ। बुधबार थप दुई जनामा हैजा पुष्टि भएको छ। योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म १४ जनामा हैजा पुष्टि भएको छ।
आरडीटी र दिसा कल्चर विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा चार महिला १० जना पुरुष छन्। सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिमा हैजा पुष्टि भएको छ।
काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी भेटिएको छ। पहिलो केसमा घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो।
अक्षण निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु नै हैजाका प्रमुख लक्षण हुन्। हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान चिकित्सकको आग्रह छ।

हैजाबाट बच्न सकेसम्म घर बाहिर खाना र बासी खानेकुरा नखाने, घरमा पकाएको खानेकुरा खाने, पानी उमालेर वा क्लोरिनको प्रयोग गरी शुद्ध बनाई पानी पिउन चिकित्सकको सुझाव छ।

खबर एक्सप्रेस