आज:  | Thu, 30, Jun, 2022

काठमाडौं उपत्यकाका ऐतिहासिक भवन

२०७९, २ असार बिहीबार २२:३६ मा प्रकाशित ( १ हफ्ता अघि) ५९० पाठक संख्या

आर्किटेक्ट वुल्फ ग्याङ कर्न सन् १९४३ मा जर्मन सहर देसाउमा जन्मिएका हुन्। सुरुवाती चरणमा उनले फेसन इन्टस्ट्री र कलात्मक दृश्यहरुले परिचित जर्मनीको पश्चिमी सहर डुसेलडोर्फमा आर्किटेक्चरल (वास्तुकला) अभ्यास गरे।

सन् १९६३ देखि १९६७ सम्म जर्मनीकै क्रिफिल्ड सहरस्थित आर्ट कलेजमा आर्किटेक्चर अध्ययन गरेका वुल्फ अध्ययनकै क्रममा ऐतिहासिक आर्किटेक्चरप्रति आर्कषित भए।

झन्डै ५४ वर्षअघि पहिलो पटक नेपालमा पाइला टेकेका उनले नेपाल सरकारको आवास एवं भौतिक योजना विभाग अन्तर्गत डिजाइन शाखामा समेत काम गरे। सो विभाग अन्तर्गत ललितपुरको पुल्चोक नजिकै मन्त्री क्वार्टरको डिजाइन गरे।

काठमाडौं उपत्यकाका ऐतिहासिक भवन, नेवारी आर्किटेक्चर, मन्दिर लगायत संरचनाको उनले नजिकबाट अध्ययन गरे। यति मात्र नभई वुल्फले सो समयमा हनुमानढोका दरबार क्षेत्रस्थित लोहान चोकको तीन तले ऐतिहासिक संरचना र अन्य संरचनाको डिजाइन गरे।

सो समयदेखि हालसम्म कर्नले चार वटा पुस्तक प्रकाशित गरिसकेका छन्। ‘दि ट्रेडिसनल आर्किटेक्चर अफ दि काठमाडौं भ्याली (१९७६)’, ‘इरोटिक कार्भिङ अफ दि काठमाडौं भ्याली’, ‘दि ट्रेडिसनल नेवार आर्किटेक्चर अफ दि काठमाडौं भ्याली : स्तुपा एण्ड चैत्य (२०१५)’ र ‘दि ट्रेडिसनल नेवार आर्किटेक्चर अफ दि काठमाडौं भ्याली : दि शिखराज’ उनीद्वारा लिखित पुस्तक हुन्।

नेपालका ऐतिहासिक भवनहरु संरक्षणमा उनीद्वारा लिखित पुस्तकहरु गतिला सामग्री बन्न सक्छन्। वुल्फले पहिलो पटक काठमाडौं उपत्यकामा पाइला टेकेको बेलादेखि वर्तमानसम्मका तस्बिरहरु आर्काइभ गरेर राखेका छन्। टोनी हागनजस्तै नेपालको लागि इतिहास बनेका वुल्फ हिजोका कुरा यसरी सम्झन्छन् :

नेपाल आउन जुरेको त्यो साइत
पढाइ सकिएपछि मैले सन् १९६७ को गर्मीयाममा वेस्ट अफ्रिकाको एउटा परियोजनाको लागि जर्मन डेभलपमेन्ट सर्भिसमा आवेदन दिएको थिएँ। त्यहाँ कुनै पनि पद उपलब्ध नभएकोले मलाई ‘त्यहाँको सट्टा नेपाल जान चाहनुहुन्छ त?’ भनेर सोधियो। मलाई उनीहरुको विकल्प मन पर्यो। मैले भनें, ‘हुन्छ।’ त्यसपछि म जर्मनीमा पर्खिबस्न सकिनँ। जतिसक्दो चाँडो नेपाल पुग्न मन लाग्यो। यसरी मेरो नेपाल आउने साइत जुरेको थियो।

सन् १९६८ जनवरी ५ मा म नेपाल अर्थात् काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरें। काठमाडौं प्रवेश गरेपछि झमझम पानी परिरहेको एक साँझ, दरबार, मन्दिरहरु, जताततै उभिएका भगवानका मूर्ति, साँघुरा गल्लीसँगै जोडिएका पुराना घर, काठ र ढुंगामा कुँदिएका कलात्मक चित्रहरु, वरपरबाट निस्किरहेको माटोको बासना। म क्षणभरमै मुग्ध भएँ। जुन क्षण म कहिल्यै पनि बिर्सन सक्दिनँ। मैले अन्दाजै नगरेका दृश्यहरु, यहाँको वास्तविक दृश्य, ‘बाफ्रे बाफ!’

वास्तवमा भन्ने हो भने, काठमाडौंको त्यो वास्तविक चित्रका लागि मैले कत्ति पनि तयारी गरेको थिइनँ। सुरुमा त मैले त्यो मध्यकालीन सहर काठमाडौंको सुन्दर अनि जटिलताभित्र आफ्नो टाउको ठोक्किएको महसुस गरें। किनकी, त्यसबेला नेपालबारे जति पनि जानकारी थिए ती पर्वतारोहणको नजरबाट मात्र उल्लेखित थिए। नेपाल पर्वतारोहणको नामले नेपाल चिनिन्थ्यो। त्यसैले ऊबेला मैले अन्दाजै गरेको थिइनँ कि काठमाडौं सहर यस्तो पनि होला।

‘नेपाल र नेवारबारे जानकारी थिएन’
त्यसबेला नेपाल र काठमाडौं उपत्यका समृद्ध सहरको आकार दिन सफल नेवारहरुबारे कुनै जानकारी थिएन। आफूलाई चाहिएको जानकारी न गुगलतिर भेटिन्थ्यो न कुनै लिखित सामग्रीमा नै भेटियो।

पहिलो तीन महिना मैले नेपाल सरकारको आवास तथा भौतिक योजना विभाग अन्तर्गत डिजाइन शाखामा काम गर्ने अवसर पाएँ। त्यसबेला मैले कृष्णराज पाण्डे र विभागीय प्रमुख इन्जिनियर बिएल श्रेष्ठ र नेपालको पहिलो महिला इन्जिनियर शान्ति मल्लको मातहतमा काम गरेको थिएँ। सो शाखामै हुँदा पुल्चोक नजिकै रहेको मन्त्रिपरिषदको क्वार्टरका केही भवनको डिजाइन पनि गरेको थिएँ।

लगत्तै मैले सहरी योजना शाखा (टाउन प्लानिङ सेक्सन)को नेतृत्व गर्ने भूमिका पाएँ। आफ्नो रुचिअनुसार काठमाडौं उपत्यका, विशेषगरी यहाँको आर्किटेक्चर र परम्परागत नेवारी घरहरुबारे स्थलगत अवलोकन र अध्ययन गरें।

सन् १९६९ मा उपत्यकाका भित्री र बाहिरी बस्तीबारे थप सर्भे एवं एक्सप्लोर गर्ने र ती बस्तीहरुको नक्सांकन गर्ने जिम्मेवारी मेरो थियो। सो जिम्मेवारी अन्तर्गत मैले त्यसबेलाका महत्वपूर्ण बस्तीहरु, कीर्तिपुर, थानकोट, खोकना, बुंगमती, चापागाउँ, साँखु, बौद्धको विस्तृत विवरणको आधारमा नक्सा तयार पार्नु थियो भने मदनमान सिंह ताम्राकारले मलाई उक्त कार्यमा सघाएका थिए।

काठमाडौं : एन इन्नोसेन्ट प्लेस
सन् १९७० तिर काठमाडौं एक्प्लोर गर्दै गएपछि मैले जर्मनीको एउटा चर्चित म्यागेजिनका लागि काठमाडौं उपत्यकाको आर्किटेक्चरबारे एउटा आर्टिकल पनि छापेको थिएँ। म फुर्सदको समय काठमाडौं उपत्यकाभित्र बनेका संरचनाबारे घोत्लिन्थें। अवलोकन गर्थें। जतिसक्दो धेरै व्यक्तिहरुलाई भेटेर ती संरचनाबारे जानकारी लिन्थें।

सोही आधारमा आधारमा मैले सन् १९७० को जनवरीदेखि जुन महिनासम्म खड्पुको इन्द्रसत्तल, काष्ठमण्डप र लक्ष्मीनारायण सत्तल लगायत अन्य भवन संरचनाको हातले खाका (ड्रोइङ) तयार पारे। काठमाडौंभित्र भएका हरेक नेवारी शैलीमा बनेका संरचना, बौद्ध लगायत अधिकांश संरचनाको स्थलगत अवलोकन गरें। अवलोकनको लागि फिल्डमा जाँदा प्राय: बाइसाइकलको प्रयोग गर्थें।

वास्तवमा त्योबेलाको काठमाडौं साँच्चै इन्नोसेन्ट थियो। एयरपोर्ट पनि हेर्दै मनमोहक थियो। साइकलमार्फत जताबाट पनि एकैछिनमा एयरपोर्ट पुगिन्थ्यो। धुवाँ-धुलो थिएन। सडकमा मोटरसाइकल गुड्दैनथे। केबल कुल-घराना र कूटनीतिज्ञ वर्गका दुई/चार सय कार मात्र चल्थे। निजी सवारी साधन त लगभग थिएन नै भन्दा हुन्छ। त्यसैले हो-हल्ला थिएन। एयरपोर्ट हुँदै बाइसाइकलमा यात्रा गर्न सहज थियो, ज्यानै चंगा बन्थ्यो।

 

कीर्तिपुर रोचक थियो। मनमोहक थियो। त्यहाँ नेवारी शैली बाहेकका अन्य भवन संरचना थिएनन्। त्यहाँका बासिन्दाको आफ्नैखाले जीवनशैली थियो। तर अहिले हेर्यो भने बाफ् रे बाफ! न केही भनी साध्य छ न देखाएर साध्य छ।  त्यो बेलाको कीर्तिपुरको वास्तविक स्वरुप ‘खत्तम’ बनिसकेको छ। सबैभन्दा ठूलो समस्या त्यही देखिन्छ।

अचेल हेर्ने हो भने, कीर्तिपुरको मौलिक पहिचान बचाउनुको  सट्टा त्यहाँ उल्टै एसियन पेन्ट्सले विज्ञापन गरेको रहेछ। त्यो पनि टाढैबाट देखिने गरी। मौलिक शैलीमा बनेका घरहरु छैनन्। बचेकाहरुलाई पनि आधुनिक कंक्रिटका घरै-घरले थिचिसकेको छ।

अब कुरा गरौं, बौद्ध र स्वयम्भूनाथको। तलबाट हेर्दा स्वयम्भूनाथ परैबाट डाडाँमा देखिन्थे। ५० वर्षअघि स्वयम्भूनाथको साइकल यात्रा पनि रमणीय हुन्थ्यो। स्वयम्भू वरपर बस्ती थिएन। खेतीयोग्य जमिन थियो। यता बौद्ध स्तुपा क्षेत्र वरपर भने सानातिना छिटपुट घरहरु थिए। तामाङ र केही तिब्बेतीयन बसोबास गर्थे। त्यसबेला बिना कुनै झन्झट एकैछिनमा बौद्धसम्म पुगेर आउँथे। अहिले बौद्ध स्तुपा कहाँनिर छ, नजिकै पुगेर पनि खोज्नुपर्छ।

नेपाल बसाइपछि म फेरि जर्मनी फर्किएको थिएँ। केही वर्षको ग्यापपछि त्यहाँबाट सन् २०१३ मा नेपाल आउँदा मैले बौद्धको रुट एक जना बृद्ध व्यक्तिलाई सोध्नुपरेको थियो। पहिले विभिन्न क्षेत्रको सर्भे गर्ने मलाई अचेल बौद्ध मात्र नभई काठमाडौंका अधिकांश क्षेत्रका रुटहरु कहाँ छन्, कहाँबाट कहाँ पुग्ने म आफैं भेउ पाउँदिन।

काठमाडौं उपत्यकाभित्र बग्ने बाग्मती, विष्णुमती नदीमा मानिसहरु लुगा धुने, नुहाउने, पौडी खेल्ने, माछा मार्ने गर्थे। त्यसबेला पशुपति मन्दिर अगाडि बग्ने बाग्मती नदीमा मानिसहरु पूजा गर्दै स्नान गर्थे। निसंकोच नदीलाई पवित्र मान्थे। विष्णुमती नदीमा बालबालिकाहरु पौडी खेल्दै रमाउँथे। पौडी खेल्दै नदी वारपार गर्थे। यहाँका स्थानीयले आफ्नो बारीमा फलेका मुला र अन्य तरकारी पखाल्थे। तर अचेल तिनै नदीमा बग्ने पानी झुक्किएर पनि छोइयो भने सिधै छालाको डाक्टरकहाँ पुग्नुपर्छ।

एउटा ऐतिहासिक, प्राचीन सहरको संरक्षण गर्न नेपाल सरकार लगायत सम्बन्धित निकायहरु असफल बने। अब यस प्राचीन सहर र यहाँका बचेका संरचनाको संरक्षण गरिएन भने भावी पुस्ताले के देख्न पाउलान्?

ललितपुर : नो कंक्रिट, नो क्राउड
त्यसबेला सिर्फ परम्परागत घरहरु मात्र थिए। ‘नो कंक्रिट, नो क्राउड’। काठमाडौंका बस्तीहरु शान्त थिए। ती बस्तीहरु एकदम न्याचुरल थिए। नेवार बस्ती बुंगमतीमा एकाध घरहरु बाहेक वरपर कृषि भूमिमात्र थियो। वरपर धान रोपेका सुन्दर फाँटहरु देखिन्थे। खोकना, बुंगमती, चापागाउँ, पाटन आदि ललितपुर भित्रका हरेक बस्तीको आ-आफ्नै खाले विशेषता थियो।

त्यसबेलाको सानो सहर पाटनमा न कुनै विकास थियो न त अहिलेको जस्तो खचाखच घरहरु नै। पाटनको एउटा कुनाबाट हेर्यो भने चारैतिर देखिन्थ्यो। अहिले हेर्छु, पाटन अचानक पूर्णतया नाटकीय रुपले परिवर्तन भइसकेछ। केवल हजार जतिको जनसंख्या अहिले दसौं हजार हुँदै लाखौंसम्म पुगिसकेको छ।

अनियन्त्रित बढ्दै गएको मान्छेको चाप, पाटनले थेग्नै नसकिने कंक्रिटका घरहरुको संरचनाले भरिभराउ, हराउँदै गएका परम्परागत नेवारी घरहरु र ऐतिहासिक संरचना अहिले हेर्दा अचम्म लाग्छ। यस्तोखाले तीव्र बृद्धि कसैले अनुमान पनि गर्न सक्दैन।

भक्तपुर : किसानको सहर
पाटन दरबार क्षेत्र, बुंगमती, कीर्तिपुर, एयरपोर्ट, बौद्ध, भक्तपुर दरबार क्षेत्र, चक्रपथ जता पुगे पनि आनन्द आउँथ्यो। जुन बस्ती पुग्यो त्यहाँको मौलिक बासनाले मन भरिन्थ्यो। अधिकांश नेवारको घरअघि सुकुल बिछ्याइएको हुन्थ्यो। सो समयमा वातानुकुल प्रविधि नहुने हुँदा हिउँदमा सुकुलमाथि सुतेर स्थानीयले सनबाथ लिने गर्थे। गर्मी याममा रुखको छहारीबाट शीतलता प्राप्त गर्थे।

भक्तपुर त विशेषगरी किसानको सहर थियो। त्यहाँका नेवार बस्तीमा धान र आँगनमा सुकाइएको खुर्सानीको टाढैसम्म मगमग बासना आउँथ्यो। त्यहाँका मानिसको जीवनशैली वास्तवमै रोचक थियो।

भक्तपुर दरबार क्षेत्र वरपर मात्र घर थिए। ती घर पनि नेवारी शैलीका थिए। एकाध बाहेक अधिकांश घरहरु दुई/चार तले मात्र थिए। अग्लो संरचनाको नाममा नौतले दरबार मात्र थियो। अहिले नौतले दरबारलाई छेक्ने थुप्रै भवन बनिसकेछन्।

त्यसबेला भक्तपुरमा एउटा/दुइटा इँटा भट्टा मात्र थिए। बाँकी जमिनमा स्थानीयले खेती गरेका हुन्थे। अहिलेको भक्तपुरमा पुरानो स्वरुप मासिइसकेको छ।

त्यो बेला कंक्रिटका घरहरु बनेका थिएनन्। काठमाडौंदेखि भक्तपुरसम्मको साइकल यात्रामा निस्कँदा एउटा पनि आधुनिक घर देखिँदैनथ्यो। क्षणभरमै भक्तपुर पुगिन्थ्यो। अहिले भक्तपुर मोडर्न (आधुनिक) घरहरुले भरिभराउ बनेको छ।

त्यसबेलाको चक्रपथ अहिलेको जस्तो थिएन। त्यो चक्रपथको योजना वरपरको दृश्यहरुको आधारमा तयार पारिएको थियो। चक्रपथ सडक रित्तो थियो। नो ट्राफिक, नो भेइकल। म साइकलबाटै सहर घुम्थें। सरर साइकल यात्रामा मज्जा आउँथ्यो।

इन्नोसेन्ट (निर्दोष) काठमाडौं यसरी अव्यवस्थित बनेको, यसरी भरिभराउ भएको मैले मात्र नभई त्यसबेलाका यहाँका बासिन्दा, आगन्तुक र विदेशी पर्यटक कसैले पनि विश्वास नै गर्न सक्दैनन्। र, यसरी तीव्र रुपमा मानिसको चाप, भीडभाड, भवन आदिले उग्र रुप लिन्छ भन्ने कसैले पनि अपेक्षा गरेका थिएनन्।

(ललितपुरको होटल हिमालयमा सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्सद्वारा आयोजित कार्यक्रममा आर्किटेक्ट एवं कन्जरभेसनिस्ट (संरक्षक) वुल्फ ग्याङ कर्नले नेपाली वास्तुकलाको क्षेत्रमा पुर्याएको पाँच दशक लामो योगदानबारे औंल्याएका थिए। सो कार्यक्रममा वुल्फले पहिले र अहिलेको काठमाडौंबारे आफ्नो प्रिजेन्टेसन प्रस्तुत गरेका थिए। यो लेख सो प्रिजेन्टेसनबाट उल्लेख गरिएको हो जुन उकेरा अनलाइनका लागि अस्मिता खड्काले तयार गर्नुभएको हो । )

खबर एक्सप्रेस