आज:  | Sat, 20, Apr, 2024

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न

२०७९, २१ जेष्ठ शनिबार २२:०४ मा प्रकाशित ( १ साल अघि) ८७१२ पाठक संख्या

काठमाडौँ । कोरोना संक्रमणका कारण दुई वर्षपछि धकलिएको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यसपटक धुमधामका साथ मनाईएको छ । गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षको लागि जात्रा सकिएको हो । लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिनको दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा लतिपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाएका हुन् । भोटोको अवलोकनसँगै राष्ट्रपति भण्डारीले कुमारीको हातबाट प्रसाद ग्रहण गरेकी थिईन।

उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौँ उपत्यकावासीकै सहभागितामा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोरोनाका कारण जात्रा नियमित रूपमा सञ्चालन हुन सकेको थिएन ।
ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ । भोटो देखाउने काम सकिएसँगै देवतालाई बुङ्मती लगिएको छ । देवता वर्षमा झण्डै आधा–आधा समय पाटन र बुङ्मती रहने गर्छन् । जात्रा समापन भयसँगै उक्त ऐतिहासिक भोटोलाई बुङ्मतीमा सुरक्षा घेरा दिएर राखिने पनि उनले बताए ।

मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ । ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासीसँग पनि जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको जानकार बताउछन् ।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकबाट गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।

 

खबर एक्सप्रेस