आज:  | Fri, 29, Mar, 2024

बाग्मती सफाई महाअभियानमा मेरो संलग्नता

२०७९, ५ बैशाख सोमबार २२:२८ मा प्रकाशित ( १ साल अघि) १३३३१ पाठक संख्या

बाग्मती सफाई महाअभियान वि.सं. २०७० जेठ ५ गते “राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ शुरु भएको अभियान एकैदिन,एकै समय स्वयंमसेवी रुपमा सञ्चालनमा आएको नेपालको सबैभन्दा ठुलो र लामो स्वयंसेवी अभियान हो । यो महाअभियानमा म पनि २८औं हप्तामा सहभागी हुने अवसर मिलेको थियो । तथापी कार्य ब्यस्तताले भने ४७औं हप्तादेखी निरन्तर रुपमा संलग्न भई आजको दिनसम्म अविचलित रुपमा निरन्तर सहभागी हुदै आएको छु । अभियानको बिभिन्न स्पेशल कार्यक्र्रममा जिम्मेवारी लिएर पाएको जिम्मेवारीलाई पूरा समेत गर्ने अवसर मिलेको छ । म केही पाउछु भनेर यो अभियानमा संलग्न भएको हैन । बच्चादेखी नै सामाजिक सेवाका कृयाकलापमा संलग्न हुदै आएकोले यो कार्यमा सकृय रुपमा संलग्न हुने मनैदेखी प्रतिबद्ध भई लागी परेकोछु । शुरुशुरुमा म संस्थागत रुपमा आफ्ना कर्मचारी र स्वयंमसेवकलाई साथमा ल्याएर सहभागी हुने गरेको थिए । बाग्मती लगाएतका नदीमा डुबेर समेत फोहोर उठाउने गरेको थुप्रै अनुभवहरु म सँग छन् । सायद अघिल्लो जन्मका केही नराम्रो कार्य गरेकोले होला यो जन्ममा त्यो कार्यलाई पखाल्नका लागी फोहोर भएको नदीलाई सफा गर्ने अवसर मिलेको होला भन्ने लाग्दछ । वाग्मती पवित्र धार्मिक नदी पनि भएकोले अझ पानी हाम्रो जिवनको लागी महत्वपूर्ण चिज भएकोले यो महान कार्यलाई अभियानको रुपमा संचालन गर्नु मेरो जिम्मेवारी हो भन्ने लागेर म दततिच भई यस अभियानमा लागेको हो ।

८ बर्ष अगाडी कुपोन्डोल पुलमुनी

बाग्मती सफाई महाअभियानका कारण थप उर्जा प्राप्त गरी अब काठमाडौं मात्र नभई देशैभरी अभियान चलाउनुपर्छ भन्ने अठोट लिएर साथीहरुसँग मिलेर मेचीमहाकाली सफाइ अभियान संचालनमा ल्याएका छौं । अहिले देशका ५ दर्जनभन्दा बढी स्थानमा सफाइ अभियान संचालन गर्ने मौका पाउदै आएकाछौं । म देशबिदेश जहाँ जाने गर्दछु त्यहाँ सफाइ अभियान संचालन गर्ने गरेको छु । समुन्द्री सतहदेखी अर्थात समुन्द्री किनारा सफाई अभियान देखी ३८०० मिटरसम्मको उचाइमा समेत सफाइ अभियान सम्पन्न गने अवसर मिलेको छ । यसकिसिमका अभियान संचालन गर्दा आफूमा निकै सकारात्मक उर्जा प्राप्त हुने गरेको छ ।

मुम्बई समुन्द्रि तट सफाइ अभियान

बाग्मती नदी किनारमा आफ्नो हरेक जन्मदिनमा समेत बृक्षारोपण गर्ने र ती रोपण गरिएका बिरुवालाई रेखदेख गर्ने अवसर प्राप्त भैरहेको छ । पछिल्लो समय कलाकारहरु पनि जोडेर अभियानलाई जनजनमा पुर्याउन जनचेतनामूलक सन्देश फैलाउने कार्यमा समेत लाग्ने अवसर मिलेको छ । रोपिएका कतिपय बिरुवा त बढेर गर्मीको समयमा शितल छहारीमा बस्नेसम्म भएका छन् । अभियन्ताहरुले बृक्षारोपण कार्यलाई निरन्तरता दिएकै कारण बाग्मती किनारामा अहिले रुद्राक्ष, बरपिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाब लगाएत बिभिन्न जातका बिरुवाहरु हुर्किदै आएका छन् । यसले गर्दापनि बाग्मती नदी किनारहरु बाताबरणमैत्री बन्दै गएका छन् ।

दैलेख सफाइ अभियान शुरु गर्दै

यो महाअभियानमा कुनै प्रकारको आर्थिक कारोबारका साथै चन्दा सहयोग लिने नगरेको कारण पनि कुनै बिबाद नआएकोले अभियानमा काम गर्दा जहिले पनि सकारात्मक उर्जा पाउने गरिन्छ । जसका कारण यो बिशुद्ध नागरीक महाअभियान बन्न पुगेको हो । हालसम्म करिब १० लाख जनाभन्दा बढीको संलग्नता हुनु पनि आफैमा गर्वको बिषय छ । देशका दिग्जग ब्यतिmहरु राष्ट्रपतीदेखी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, लगाएत राज्यका उच्चपदस्थ पदाधिकारी, कलाकारहरु देखी नागरीकसम्म यो अभियानमा सामेल हुनु पनि भईसक्नु भएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरीको यो अभियानमा ठुलो साथ सहयोग रहदै आएको छ । भने यस अभियानमा हजारौं संस्थाहरु संस्थागत सहभागीता रहेको छ ।
यो महाअभियान कै कारण वाग्मती नदीका सहायक नदीहरु क्रमशः विष्णुमती, रुद्रमती, ईच्छुमती, मनहरा, गोदावरी, नख्खु, कोडकु तथा वाग्मतीको माथिल्लो भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगंगा, आलोकनगर, सुन्दरीघाट, हनुमन्ते, वाग्मती फोहोर उन्मूलन र चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागका सफाइ अभियानमा समेत सहभागी हुने मौका पाएको छु । भने पुर्वको बिर्तामोडदेखी सुदुरपश्चिमको महेन्द्रनगरसम्मका अभियानमा संलग्न हुने र अभियन्ताहरुलाई उत्प्रेरणा जगाउने कार्यमा सहभागी हुने अवसर समेत पाएकोछु । महाअभियानको मूल उद्देश्य भनेको विशुद्ध स्वयंसेवी भावनाको विकास गर्ने, स्वाभिमानी भावनाको विकास गराउने, हामी हाम्रो काम आफै गर्न सक्छौ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निस्वार्थ समर्पण हुने युवा जनशक्ति निर्माण गर्ने हो । त्यसैले मैले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भनेर आफै कृयाशील हुने मौका पाएको हो ।

३८०० मिटर कालिन्चोकमा सफाइ गर्दै

यो महाअभियानले नागरिकमा फोहरलाई श्रोत मै व्यवस्थापन गर्न, नदीहरु, सम्पदा तथा सार्वजनिक स्थलको सरसफाइ गर्न र राष्ट्रब्यापी जनचेतना जगाउन अतुलनीय योगदान दिएको छ । यो सबैको साझा अभियान भएकोले सबैले हातेमालो गर्दै अगाडी बढने उत्प्रेरणा जागेर आएको छ । यो अभियानका बारे धेरै प्रश्न समेत उठने गरेका छन् । अभियान कहिलेसम्म संचालन हुन्छ त भन्नेको संख्या पनि ठुलो छ । हामीले जवाफ दिने गरेका छौं कि जबसम्म बाग्मती नदीमा सफा पानी बग्दैन तबसम्म यो अभियान जारीरहन्छ ।

नागरिकमा जनचेतना जाग्दै गर्दा अब निम्न कार्य गर्न निकै जरुरी रहेको महशुस गरेकोछु ।

१. घरबाट निस्कने फोहोरलाई बर्गिकरण गरी कुहिने फोहोरलाई अग्र्यानिक मल बनाई कौसीखेती गर्ने
२. प्लाष्टीक, फलाम कागजलाई बिक्रि गर्न सकिन्छ त्यो फोहोरबाट मोहर बनाऔं
३. सरकारी जिम्मेवार निकायले जथाभावी फोहोर फाल्नेलाई कडा कार्वाही गर्ने ।
४. जनचेतना फैलाउन बिघालय स्तर मै सफाई सम्बन्धि शैक्षिक पाठयक्रम समावेश गर्ने
“म मेरो बासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिक स्थल वरिपरि तथा नदीनालाहरु सफा राख्छु । वाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, बचन र कर्मले लाग्नेछु ।”

चक्र बहादुर चन्द अभियन्ता, बाग्मती सफाई महाअभियान

खबर एक्सप्रेस