आज:  | Thu, 25, Apr, 2024

नेपालमा विदेशी फिल्मको प्रदर्शनमा कडाइ हुनुपर्ने माग

२०७८, २८ चैत्र सोमबार २१:४५ मा प्रकाशित ( २ साल अघि) ७०६९ पाठक संख्या

नेपालमा विदेशी फिल्मको प्रदर्शनमा कडाइ हुनुपर्ने माग राख्दै चलचित्र विकास बोर्डमा ९ बुँदे मागपत्र बुझाइएको छ ।विदेशी फिल्मका कारण नेपाली फिल्म हलमा प्रदर्शन हुने अवस्था नै नबनेपछि फिल्मकर्मीले चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् ।

फिल्मकर्मीले चलचित्र विकास बोर्डमा विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने माग गर्दै बोर्ड अध्यक्ष दयाराम दाहाललाई ज्ञापनपत्र बुझाइएको हो । फिल्मकर्मीको एक टोलीले आइतबार फिल्म निर्देशक, प्राविधिक र निर्माताको हस्ताक्षरसहितको मागपत्र अध्यक्ष दाहाललाई भेटेर ९ बुँदे पत्र बुझाएको हो ।

बोर्डमा ज्ञापन पत्र बुझाएको बिषयमा निर्देशक शोभित बस्नेतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । ‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने हामी । आफ्नै घरमा आगो लाग्दा पनि हेरीनै रहने हो त ?’ उनले अगाडि भनेका छन् ‘बोर्डमा हामी फिल्मकर्मीले फिल्म सम्बन्धि अति आवश्यक मागहरु सहित ज्ञापनपत्र बुझाएका छौ ।’

ज्ञापनपत्रमा फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरेर चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने र राष्ट्रिय चलचित्र नीति २०७१ लाई हुबहु लागू गर्न उच्चस्तरीय राष्ट्रिय चलचित्र नीति कार्यान्वयन तथा अनुगमन समिति गठन गर्नुपर्ने माग गरिएको छ । विदेशी फिल्मलाई नेपालमा प्रदर्शन कडाई गरिनुपर्नेलगायत माग रहेका छन् । सोही अवसरमा विदेशी फिल्मले नेपाली फिल्मलाई बिस्तापित गर्न लाग्यो भन्दै विदेशी फिल्म प्रदर्शनमा कडाइ गर्न बोर्ड अध्यक्षलाई अनुरोध समेत गरिएको थियो । यस्तै, ज्ञापनपत्रमा विदेशी फिल्मलाई नेपालमा प्रदर्शनको लागि कोटा प्रणाली लागू गर्नुपर्ने, विदेशी तथा नेपाली भाषामा डबिङ गरी फिल्म प्रर्दशन गर्ने नीतिगत निर्णय रोक्नुपर्ने, विदेशी फिल्मको भन्सार १५ प्रतिशत कायम गर्नुपर्ने माग सहित विदेशी फिल्म प्रदर्शनलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएका फिल्म हललाई दिएको छुट खारेज गर्नुपर्ने पत्रमा उल्लेख छ ।

फिल्मकर्मीको टोलीमा निर्देशक शोभित बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतले दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

खबर एक्सप्रेस