आज:  | Fri, 29, Mar, 2024

संकटले घेरिएको श्रीलंका

२०७८, २४ चैत्र बिहीबार ०८:०८ मा प्रकाशित ( १ साल अघि) ७१६२ पाठक संख्या

भुवनेश्वर शर्मा, चन्द्रागिरि-२, काठमाडौ । श्रीलंकाका सबै मन्त्रीले दिए राजीनामा समाचार पढ्दा मन्त्रीपदको मोह हुँदाहुँदै अनहोनीको डरले उनीहरू सामूहिक रूपमा कुर्सी छोड्न बाध्य भएको भन्न सकिन्छ । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा दिएका कारण सरकार पूर्ण रूपले डगमगाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्ष र राष्ट्रपति गोटाबाय राजापक्ष भने पदमै टिकिरहेका छन्। दाजुभाइसमेत रहेका उनीहरूको सरकारमा पकड र मनोमानी लामो समयदेखि चल्दै आएको थियो। बढी आर्थिक कारोबार हुने मन्त्रालय, निकायहरूमा राष्ट्रपति गोटाबायकै परिवारका सदस्य, नातेदार नियुक्त भई आर्थिक घोटाला उचाइमा पुयाएको समाचार आइरहेका छन् चर्को महँगी, लोडसेडिङ, औषधि- इन्धनको अभाव, सर्वसाधारणलाई हातमुख जोड्न धौ-धौ परेको स्थिति, खाद्यवस्तु सकिंदै गएको अवस्था, सरकारको विरोधमा उत्रेको जनलहर लगायतका परिदृश्य श्रीलंकाको परिचय बनेका छन् यति बेला यसरी श्रीलंकामा आर्थिक अस्तव्यस्ततासँगै राजनीतिक संकट पनि गहिरिएपछि राष्ट्रपति गोटाबायले सबै दललाई नयाँ सरकार गठनमा सहभागी भएर संकट न्यून गर्न आग्रह गरेका छन् तर विपक्षी दल यसमा सहमत नभएपछि राष्ट्रपतिले बाध्य भई चार नयाँ मन्त्री नियुक्त गरेका छन् । यो महासंकट तत्काल किनारा लाग्न सक्ने देखिदैन । श्रीलंकाको परिस्थिति नेपालमा पनि नदेखिएला भन्न सकिँदैन । अहिले केवल १० अर्ब डलर सञ्चित रहँदा एक-एक पाईको महत्त्व बढेको छ भने आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको योजना सरकारसँग छैन । जिम्मेवार नेतृत्व राजनीतिक डंका बजाउनमै व्यस्त छ, अधिकांश सरकारी निकाय विलासिताको नमुना बनेका छन् । यी र यस्तै सन्दर्भले मुलुकको अर्थतन्त्र धराशायी नबन्ला भन्न सकिन्न ।

खबर एक्सप्रेस