आज:  | Thu, 25, Apr, 2024

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदै

२०७८, १८ चैत्र शुक्रबार ०६:३४ मा प्रकाशित ( २ साल अघि) ५८६० पाठक संख्या

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाँदै छन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरी नयाँ दिल्ली जान लागेका हुन् । नेपालबाट प्रधानमन्त्रीस्तरको भारत भ्रमण यो चार वर्षपछि हो । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारत गएका थिए । भारतीय प्रधानमन्त्री मोदी पनि नेपाल आएका थिए ।

प्रधानमन्त्री देउवा नेपाली समयअनुसार शुक्रबार अपराह्न २:३५ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ । त्यहाँ मन्त्रीस्तरका नेताले स्वागत गर्नेछन् । शुक्रबारै ४:१५ मा भारतका विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्ने तालिका भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ। मोदीसँग प्रधानमन्त्री देउवा र प्रतिनिधिमण्डलस्तरीय वार्ता शनिबार बिहान १०:५५ मा तय गरिएको छ । वार्ता हैदराबाद हाउसमा हुने जनाइएको छ ।

प्रधानमन्त्रीसँग ३/३ जना रहेको ‘रेस्ट्रिक्टेड’ बैठक हुनेछ । प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका मन्त्री र सचिवस्तरीय टोली हुनेछ । देउवा र मोदीले मध्याह्न १२ बजे जनकपुर जयनगर रेलवे शुभारम्भ गर्नेछन् । नेपालमा भूकम्पपछि भारतको सहयोगमा निर्माण गरिएका स्वास्थ्य चौकीको उद्घाटन गर्ने पनि कार्यक्रम छ । लगत्तै दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।

शनिवार साढे ४ मा प्रधानमन्त्री देउवा र भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग शिष्टाचार भेट हुनेछ। देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट वाराणसी पुग्नेछन् । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथल स्वागत गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री देउवा लगायतको विशिष्ट टोलीलाई दिवा भोजको कार्यक्रम आयोजना गर्नेछन् ।

देउवाले काशी विश्वनाथ मन्दिर र पशुपतिनाथ मन्दिर दर्शनसँगै नेपाली धर्मशाला भ्रमण गर्नेछन् । प्रधानमन्त्री देउवा बनारसबाट सवा ४ बजे दिल्ली पुगेर स्वदेश फर्किने कार्यक्रम बनेको छ ।

देउवासँग भारतका सुरक्षा सल्लाहकारले पनि भेट्ने कार्यक्रम रहेको बालुवाटार स्रोत बताउँछ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुन प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन्।

नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारत भ्रमणमा जाने प्रचलन देखिन्छ । प्रधानमन्त्रीको पहिलो विदेश यात्रा ने भारत हुन्छ । यो प्रचलन २००७ सालमा सुरु भएको देखिन्छ । त्यति बेला प्रधानमन्त्री मोहनशमशेर भारत गएका थिए

२०६२/६३ को आन्दोलनपछि भने चलन ‘ब्रेक’ भयो । गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए। यद्यपि दाहालले चीनबाट फर्केलगत्तै आफ्नो औपचारिक भ्रमण भने भारतमै हुने बताएका थिए। उनी ओलम्पिक समारोहमा सहभागी हुन चीन पुगेका थिए। झलनाथ खनालले प्रधानमन्त्री भएका बेला विदेश भ्रमण कम्बोडियाबाट सुरु गरेका थिए । भारतबाट विदेश भ्रमण सुरु नभए सरकार प्रमुखको भारतसँग सम्बन्ध राम्रो नहुने रूपमा पनि विश्लेषण गर्ने गरिन्छ।

खबर एक्सप्रेस