आज:  | Sat, 28, May, 2022

न विर्षेँ तिमीलाईको रचना भर्सनमा अन्जुको असन्तुष्टि

२०७८, २६ माघ बुधबार ०८:५२ मा प्रकाशित ( ३ महिना अघि) ४८३७ पाठक संख्या

देश बाहिर रहेकि गायिका अंजु पन्तले आफूले गाएको पुरानो गीत न विर्षेँ तिमीलाई भन्ने गीतको रचना भर्सन गीत बिबादमा तानिएपछी उनले सामाजिक संजालबाट प्रतिक्रिया दिएकी छन उनी लेख्छिन 

“मेरा सम्पूर्ण श्रोता,दर्शक तथा शुभचिन्तकमा अभिवादन भर्खरै पुनःरेकर्ड भएर युट्युवमा सार्वजानिक भएको न विर्षेँ तिमीलाई न पाएँ तिमीलाई गजलको नयाँ भर्सन आएको खवर थाहा पाएँ । यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्तकहरुले जिज्ञासा र चिन्ता ब्यक्त गर्नुभएको पाएँ ।  हाल म काम बिशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिन यसप्रति क्षमा प्रार्थी छु । 

यो गजल सर्जक विपिन किरणको शब्द, संगीतकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो । 

आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन । केही समयअघि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ । यसैक्रममा उहाँले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरुलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुशीसाथ हुन्छ भनेकी थिएँ । 

अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ र रहिरहने छ । 

उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ । आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस् । 

मेरा लाखौँ सहकर्मी, श्रोता, दर्शकहरुबाट पाएको माया र सम्मानप्रति सदैब आभार ब्यक्त गर्दछु । “

खबर एक्सप्रेस