आज:  | Thu, 28, Mar, 2024

कालेबुङ्गका श्री काजी सिंहलाई प्रतिष्ठित पद्म श्री पुरस्कार

२०७८, ११ माघ मंगलवार २२:४१ मा प्रकाशित ( २ साल अघि) १७२९९ पाठक संख्या

सुमन बस्नेत बस्नेत कालेबुङ्ग भारत ।

गोर्खा श्रीमादलका प्रतिपादक भारत कालेबुङ्गका सुविख्यात लोक कलाकार श्री काजी सिंहलाई यस वर्षको प्रतिष्ठित पद्म श्री पुरस्कारले सम्मानित गरिएको छ । श्री काजी सिंहले आफ्नो सम्पूर्ण जीवन गोर्खा/नेपाली लोक सङ्गीतमा प्रयुक्त हुने एक महत्त्वपूर्ण वाद्य यन्त्र श्रीमादलको बारेमा जानकारी र जागरूकता फैलाउन र दस्तावेजीकरण गर्न समर्पित गरेका थिए। यस श्रीमादल वाद्य यन्त्रको “नोटेशन प्रणाली” र पारम्परिक लोक गीत ‘मादलेगीत’ बारे शोध समेत् गरेका थिए। उनको यो महत्त्वपूर्ण अनुसन्धान कार्य यस वाद्य यन्त्रमा तालिम र शिक्षणलाई औपचारिक स्वरूप दिने दिशामा एक प्रयास हो र यो भारतीय शास्त्रीय सङ्गीत प्रणाली (भातखण्डे ताल प्रणाली) मा प्रयोग हुने ताल प्रणालीको समानान्तर छ ।श्री काजी सिंह अहिले ७९ वर्षका भए । उनको पुस्तक ‘श्रीमादल-कलानिधी’ सङ्गीतमा उनको ५४ वर्षको अनुसन्धानको अन्तिम अंश र सार हो। नेपाली/गोर्खा सङ्गीतको विकासप्रति श्री काजी सिंहज्यूको योगदान अभूतपूर्व एवं अद्वितीय छ् भन्दा फरक नपर्ला हिमाली क्षेत्रको लोक सङ्गीतलाई बढ़ावा दिने श्री काजी सिंहज्यूको अद्भूत अनुसन्धान र साधना साँच्चै नै प्रशंसनीय छ। भन्दै दार्जिलिङका लोक सभा संसद राजु बिष्टले आफ्नो सामाजिक संजालमा प्रधानमन्त्री श्री नरेन्द्र मोदी र भारत सरकारलाई दार्जीलिङ्ग पहाड़, तराई अनि डुवर्स, तथा भारतभरिका गोर्खा समुदायको तर्फबाट धन्यवाद समेत् दिएका छन्।

उनी हाम्रो छहारीका सदस्य समेत् हुन

यसबारे हाम्रो छहारी, मुम्बईका सल्लाहकार हिरा छेत्री लेख्छन 

‘तिमी त रैछौ मङ्गले गाउँको’ जस्तो लोकप्रिय अनि कालजयी गीत रचना गरेर सङ्गीतप्रेमीहरूको हृदयमा उइलेदेखि नै स्थान ओगटेर राज गरिरहेका श्रीसिँहले मुम्बईमा पनि सङ्गीतकारका रूपमा आफ्नो सेवा प्रदान गरेको पछि उनी सिक्किमको राजधानी गान्तोकको प्रसिद्ध शैक्षिक संस्थान तासी नामगेल अकादमीमा सङ्गीत प्रशिक्षकका रूपमा कार्यरत रहनुभएको थियो। सेवानिवृत्तिपछि कालेबुङको सात माइलमा निज वासस्थान निर्माण गरेर सङ्गीत र संस्कृतिको संरक्षणार्थ खटिरहनु भएका श्री सिँहलाई जातीय वाद्य सामग्री मादलका सम्राट भनेर पनि चिनिन्छन । उनले मादलका बारे शोध गरेर धेरै तथ्य फेला पारेका थिए । उनले हालमा कालेबुङमा जातीय बाजा मादलको तालिम केन्द्र खोलेर युवाहरूलाई यस वाद्ययन्त्रतिर ध्यानाकर्षित गर्ने काममा दत्तचित्तले लागी परेका समेत थिए । जस्तो बाउ उस्तै छोरो भनेझैँ उहाँका सुपुत्र श्री निशान्त सिँह पनि शास्त्रीय वाद्य सामग्री पखावाजका बेजोड़ कलाकार हुन ।

खबरएक्सप्रेस परिवारको तर्फबाट श्री सिँहलाई यस महान सम्मानका लागि हार्दिक बधाई

खबर एक्सप्रेस