आज:  | Tue, 16, Apr, 2024

१० जना सहसचिवको सरुवा

२०७८, २५ पुष आईतवार २३:४१ मा प्रकाशित ( २ साल अघि) ८१८५ पाठक संख्या

काठमाडौं । सरकारले १० जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १० सहसचिवको सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार तीन सहसचिव गृह मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत ल्याइएका छन् भने, संघीय मामिला तथा सामान्य प्रशासन मातहत रहेका दुई सहसचिव गृह पठाइएका छन् । पाँच सहसचिव भने संघीय मामिला मन्त्रालय मातहतबाट सोही मातहतका अन्य निकायमा सरुवा भएका छन् ।

गृहबाट बाहिरिने तीन सहसचिवमा श्रवणकुमार तिमिल्सेना, शिवकुमार कार्की र मनमाया पंगेनी रहेका छन् भने गृह प्रवेश गर्नेमा सहसचिव राजेश्वर ज्ञवाली र नारायणप्रसाद रिसाल रहेका छन् । गृह मन्त्रालयबाट बाहिरिनेमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना रहेका छन् । उनको अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको हो । आयोगमा कार्यरत सहसचिव एवम प्रवक्ता नारायणप्रसाद रिसाल भने गृह मन्त्रालय प्रवेश गरेका छन् ।

यस्तै गृहबाट बाहिरिनेमा बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की रहेका छन् । उनको समावेशी आयोगमा सरुवा भएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी पनि गृहबाट बाहिरिएकी छन् । उनको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव राजेश्वर ज्ञवाली पनि गृह प्रवेश गरेका छन् । केही दिनअघि मात्रै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट मन्त्रालयको अतिरिक्त समूहमा तानिएका उनी गृह छिर्नकै लागि मन्त्रालयको अतिरिक्तमा सरुवा भएर आएका थिए ।

कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका सहसचिव झक्क आचार्यको कर्णाली प्रदेशकै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा सरुवा भएको छ । यस्तै आन्तरिक मामिला मन्त्रालय कर्णली प्रदेशको सचिवको जिम्मेवारीमा रहेका सहसचिव चक्रबहादुर बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

राजश्व प्रशासन तालिम केन्द्रका दीर्घराज मैनालीको सामाजिक विकास मन्त्रालय प्रदेश एकमा सरुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रिता जोशीको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव भरत अर्यालको झोलुंगे पुल डिभिजन कार्यालयका सरुवा भएको छ ।

खबर एक्सप्रेस