आज:  | Tue, 26, Mar, 2024

गोदावरी सफाई अभियानको १५० औं हप्ता पूरा

२०७८, २५ पुष आईतवार ०९:१४ मा प्रकाशित ( २ साल अघि) ९२०८ पाठक संख्या

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अतिक्रमित गरिएका भुभागहरु हटाउने काम सरकारको भएको बताएकी छिन् । शनिबार गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको औपचारिक कार्यक्रममा मन्त्री झाँक्रीले सडक मात्रै नभएर बागमती विष्णुमती लगायत खोला, सार्वजनिक सम्पदाको वरपर अतिक्रमित गरिएका भुभागहरु हटाउने काम शहरी विकास मन्त्रालयको बताउँदै आगामी दिनमा बागमती वरपरको अतिक्रमित भुभागहरु हटाउने बताएका हुन् ।यस्तै, मन्त्री झाँक्रीले गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले गरेको कार्यप्रति प्रशंसा गर्दै नितिगत हिसाबले कानुनी र कार्यक्रमको हिसाबले केही थप काम गर्नुपर्ने बताईन् । संघीय सरकारले ल्यान्डफिल्ड साईट बनाउने तर, स्थानीय सरकार भने कानमा तेल हालेर बस्ने.गरेको बताउँदै उनले असभ्य मानिसहरुलाई सभ्य बनाउन स्रोत मै कारबाही गर्नुपर्ने समेत बताईन्  हाम्रो गोदावरी स्वच्छ,सफा र सुन्दर गोदावरी भन्ने नारालाई आत्मसाथ गर्दै अभियन्ताको पहलमा सुरु भएको अभियानले गोदावरी खोला क्षेत्रलाई हरेक हप्ता सफा गर्दै स्वच्छ बनाउन प्रयास गरिरहेको छ। महिला तथा बालबालिकाको पहलमा गर्दै आएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियान गोदावरी खोलालाई स्वच्छ बनाई नदीलाई पूर्ण र जीवन्त बनाउन सुरु गरिएको हो ।

उक्त सफाइ अभियानको सुधारात्मक प्रयास भईरहेको हुदा यसलाई झन कायम गर्दै, अझै उर्जाका साथ अघि बढ्ने आफुहरुको लक्ष्य रहेको संयोजक बेवी राज भण्डारीले बताईन् । नदी सफाइ अभियान देशकै सफल र पृथक अभियान बनेकोमा अभियन्ताहरु खुसी भएको बताउँदै उनले जल सम्पदाको संरक्षण गर्न समाजका सबै वर्गका नागरिकलाई अभियानले सकारात्मक सन्देश प्रवाह समेत गरेको बताईन् । अभियान्ताहरुले निरन्तर साप्ताहिक रुपमा गोदावरी कुण्ड देखि गोदावरी खोला हनुमन्ते दोभान सम्म सरसफाइ गरेर जनचेतनामूलक ,सचेतनामुलक अभियान चाल्नुका साथै कोरोनाका कारण खोलामा गएर सबै भेला भएर सरसफाइ गर्न नसकेको अवस्थामा पनि घर घर बाट नै सरसफाइ , घर नजिक सार्वजनिक क्षेत्र सरसफाइ , गोदावरी खोला सरसफाइ गर्दै सामाजिक दुरि कायम गरि सुरक्षा अवस्था खयाल गरेर सरसफाइ एवम् वृक्षारोपन कार्य गरेर समेत अभियानलाई निरन्तरता दिएका थिए । त्यती मात्र नभएर अभियानले गोदावरी खोला साप्ताहिक सरसफाइ , विद्यालय स्तरिय जनचेतनामूलक कार्यक्रम , घरदैलो सरसफाइ कार्यक्रम , वृक्षारोपन , सन्देश मुलक होर्डिङ बोर्ड राख्ने , सरसफाइ मानव साङ्ग्लो , लगायतको विभिन्न कार्य गरेर समाजमा चेतना फैलाउने काम गरिरहेको छ। गोदावरीको वातावरण सदैव प्रदूषरहित, हरभरा, स्वच्छ, सफा र सुन्दर बनाउने सो अभियानको लक्ष्य रहेको छ। गोदावरीमा पहिलो पटक सो अभियानको थालनी २०७५ साल फागुन २६ गतेदेखि शुरु भएको थियो ।

कार्यक्रममा पुर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, वाग्मती सरसफाइ महाअभियानका मुख्य अभियन्ता लीलामणि पौडेल लगायतले गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको काम सरहानिय रहेको बताउँदै आगामी दिनमा पनि यस्तै कार्यहरु गर्दै जान शुभकामना व्यक्त गरेका थिए । साथै उनीहरुले सामाजिक काम चुनौतीपूर्ण रहेकाले सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।

यसैगरी कार्यक्रममा मेमोरी किङ्ग अर्पन शर्मा, वरिष्ठ समाजसेवी राजु कार्की, समाजसेवी राजन थापा, विभिन्न संघ सस्थाका प्रतिनिधि,वाग्मती महाअभियानका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी , नेपाल शशस्त्र प्रहरी ,पत्रकार, सामाजिक अभियन्ता लगायतलाई कदर पत्रले सम्मान गरिएको थियो । साथै, कार्यक्रममा संयोजक बेवी राज भण्डारीले कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्नका साथै मनोरन्जनात्मक कार्यक्रम पनि गरिएको थियो ।

खबर एक्सप्रेस