आज:  | Fri, 28, Jan, 2022

राजनितिक प्रतिशोध बन्द गर नभए कडा प्रतिकार गर्ने गुराँस एमालेको चेतावनी

२०७८, २० पुष मंगलवार १९:१३ मा प्रकाशित ( ३ हफ्ता अघि) २३८८ पाठक संख्या

ललित बिष्ट । दैलेखको गुराँस गाउँपालिकाको राजनितिक नेतृत्वले एकलौटी, ज्याजतिपूर्ण र राजनितिक प्रतिशोध साँध्ने किसिमका कार्य गरिरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँ कमिटी गुराँसले त्यस्ता कार्य तत्काल सच्याउन चेतावनी दिएको छ । एमालेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गुराँस गाउँपालिकाको राजनितिक नेतृत्वले विभिन्न गतिविधिहरु सञ्चालन गर्ने क्रममा जिम्मेवार प्रतिपक्षीको हैसियतले रचनात्मक सहयोग गर्दा गर्दै पछिल्लो चरणमा धेरै ज्याजति पूर्वकका गतिबिधि गरिरहेको भन्दै चेतावनी दिएको छ । त्यस्ता किसिमका गतिविधि एक हप्ताभित्र नसच्याए कडाभन्दा कडा संघर्षका कार्यक्रम गर्ने भन्दै नेकपा एमाले गुराँस गापाका अध्यक्ष हिमबहादुर ओलीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत् चेतावनी दिइएको छ । विज्ञप्ति सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपा कुमारी बिसीसँग छलफल समेत गरेको थियो। छलफलमा एमाले गुराँसका सचिव दीपेन्द्र ओली लगाएतको सहभागिता थियो ।

विज्ञप्तिमा गुराँसभित्र कार्यरत कर्मचारीलाई राजनितिक आस्थाको आधारमा प्रतिशोध साँधि कामकाज तथा सेवा प्रवाहमा समेत असर पर्नेगरी अवरोध गरेको, साझेदारी कार्यक्रमको नाममा वितरित रकमको सम्झौताअनुसार कार्यान्वयन नभएको र फिर्ता गर्ने प्रक्रियासमेत शुरु नगरी नितिगत भ्रष्ट्राचार गरेको, परामर्श सेवाको नाममा मनोमानी ढङ्गले आवश्यकताभन्दा बढी राजनितिक विचारको आधारमा कर्मचारी नियुक्त गरेको दावी गरिएको छ । यसैगरी, राजनितिक आस्थाको आधारमा मनोमानी ढङ्गले कर्मचारी तथा शिक्षकलाई सरुवा तथा बढुवाको नाममा आतङ्क सिर्जना गरेको, कर्मचारी तथा शिक्षकलाई तथानाम गालिग्लोज गर्ने, मनोवल गिराउने र असुरक्षित वातावरण सिर्जना गरेको, गाउँसभा तथा कार्यपालिकामा समेत छलफल नगरी अपारदर्शी ढङ्गले कार्यकर्तामुखी बजेट निर्माण गरी वितरण गरेको, विनियोजित शीर्षकअनुसारको वजेट खर्च नगरी करार कर्मचारीहरु, विद्यालयका सहयोगी, बाल विकास केन्द्रका सहयोगीहरुको तलवभत्ता समयमा नदिने गरेको र बस्ति तथा वडास्तरबाट आएका जनताका विकास योजनाहरुको बेवास्ता गरी मनोमानी ढङ्गले योजनाका काम अघि बढाएकोसमेत दावी एमालेले गरेको छ ।

खबर एक्सप्रेस