आज:  | Thu, 25, Apr, 2024

कबडीको चौथो सिरिजको टिजर सार्वजनिक

२०७८, ५ पुष सोमबार १५:४० मा प्रकाशित ( २ साल अघि) ९६७३ पाठक संख्या
फिल्म ‘कबड्डी’ को चौथो सिरिजको प्रदर्शन मितिसँगै टिजर सार्वजनिक भएको छ । दुई हप्ताअघि मुस्ताङमा छायांकन सकिएको फिल्मको सोमवार टिजर सार्वजनिक गर्दै आउँदो बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । प्रेम वियोगले विरक्तिएका दयाहाङ राई (काजी) को जीवनमा मिरुना मगर (मिस शान्ति) को आगमनपछि आउने उतारचढावलाई टिजरमा देखाइएको छ ।
टिजरको सुरुवातमा दयाहाङले बुद्धि तामाङ र विजय बरालसँग ‘आजदेखि मेरो बिहेको कुरा सकियो केटा हो, अब म आफ्नो बाटो लाग्छु तिमारु पनि आफ्नो बाटो लाग’ भन्दै खोलामा मोबाइल फ्याकिदिन्छन् । उता, शहरबाट शिक्षिकाको रुपमा मिरुनाको आगमन हुन्छ भने घोडा चढेर सौगात मल्ल (बमकाजी) को पनि इन्ट्री भएको छ । टिजरमा समावेश केही संवाद रमाइला छन् ।
‘कबड्डी कबड्डी’ मा रेश्मा गुरुङ (मैयाँ) का लागि लडेका दयाहाङ र सौगातबीच यसपटक मिरुनाका लागि घम्साघम्सी हुने टिजर हेर्दा अनुमान गर्न सकिन्छ । तर, टिजरमा केही दृश्यहरु कुनै कम्पनीको प्रचार गर्नकै खातिर राखिएका छन् । रामबाबु गुरुङ निर्देशित यो फिल्मलाई ‘कबड्डी’ को अन्तिम सिरिज भनिएको छ । यसैले फिल्मको उप-शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ ।
बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । फिल्ममा गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ । शैलेन्द्र डि. कार्कीले खिचेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत छ ।
https://youtu.be/aAFTcXtRvDg
खबर एक्सप्रेस