आज:  | Sat, 27, Nov, 2021

बढयो छठको चहलपहल

२०७८, २१ कार्तिक आईतवार ११:३३ मा प्रकाशित ( २ हफ्ता अघि) ९३१ पाठक संख्या

काठमाडौं । तिहार पर्व सकिएसँगै तराई–मधेसवासीहरुको बिशेष गरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाउने छठपर्वको तयारी सुरु भएको छ। अहिले छठ पूजाको तिब्र तयारी हुदैछ । जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा पुजा सामाग्री किन्नेहरुको निकै चहलपहल बढेको छ।
लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ। छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ। खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन्। यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ। अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्। काठमाडौंको गुह्रेश्वरी स्थित घाटमा पनि तयारी तिब्र पारिएको छ । सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ। यही पुजालाई मध्यनजर गरी बाग्मती सफाई महाअभियानले पनि सोही आसपास सफाई कार्यक्रम आयोजना गरेको छ । भने छठ पर्वपछि पनि त्यही सफाई कार्यक्रम राखिएको अभियन्ता माला खरेलले बताउनु भयो ।
उपत्यका बाहिर जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउ लगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ। छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ।
विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन्। यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ। सोमबारदेखि सुरु हुने पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ।

खबर एक्सप्रेस