आज:  | Thu, 25, Apr, 2024

बहुमूल्य धातु ‘ह्वाइट जेड’ को बुद्धमूर्ति अनावरण

२०७८, १४ कार्तिक आईतवार २०:५० मा प्रकाशित ( २ साल अघि) ८३०९ पाठक संख्या

राष्ट्रपति विद्यादेवी भण्डारीले रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा गौतमबुद्धको मूर्ति अनावरण गरेकि छन् । सोही कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थलमा विकासका गतिविधि बढाएर विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिईन् । राष्ट्रपति भण्डारीले लुम्बिनीलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्दै विश्वकै एक उत्कृष्ट प्राज्ञिकस्थलको रुपमा विकास गर्न सङ्कल्प लिएर अघि बढनुपर्ने बताईन् ।
विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताईन् ।


करिब रु दुई अर्ब ५० करोड बराबरको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको हो । सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो । एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट कात्तिक ४ गते भैरहवा ल्याएको थियो ।

खबर एक्सप्रेस