आज:  | Thu, 28, Mar, 2024

कोहलपुरमा बाल राहत कोष स्थापना गरिने

२०७८, २२ श्रावण शुक्रबार २२:४१ मा प्रकाशित ( २ साल अघि) ७९३७ पाठक संख्या

बाँकेको कोहलपुर नगरपालिकामा बाल राहत कोष स्थापना गरिने भएको छ । कोहलपुर नगरपालिकाको नगरस्तरीय बाल अधिकार समितिको बैठकले कोहलपुर नगरपालिका भित्र बाल राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । विभिन्न हिंसामा परेका बालबालिकाहरुलाई उद्धार गरी सामाजिक जीवन जिउनका लागि आर्थिक रुपमा सहयोग गर्नका लागि बाल राहत कोषको स्थापना गर्ने निर्णय भएको कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा नगरस्तरीय बाल अधिकार समितिकी अध्यक्ष सञ्जु कुमारी चौधरीले बताएकी छिन् । बेचबिखनका घटनामा परेर उद्धार गरी ल्याएका बालबालिकाहरुको लागि आर्थिक रुपमा सहयोग गर्ने लक्ष्यका साथ बाल राहत कोष स्थापना गरिएको उनले बताएकी छिन् । साथै उनले आर्थिक वर्ष २०७७/०७८ मा कोहलपुर नगरपालिकाको महिला तथा बालबालिका शाखाले बालबालिका सम्बन्धी गरेका कामहरुको बारेमा बैठकमा जानकारी समेत गराएकी थिईन् । उपप्रमुख चौधरीले वडा स्तरिय बाल अधिकार गठन, वडा स्तरिय क्लब गठन, बाल अधिकारको संवद्र्धन, संरक्षण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम, किशोरीहरु माझ आत्मरक्षा सम्बन्धी तालिम, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत बालविवाह न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको बताएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले बालबालिका सबै पक्षसँग जोडिएको हुनाले कोहलपुर नगर शिक्षाले बालविकास कक्षामा विशेष ध्यान दिएको बताएका छन् । साथै उनले बालविकास कक्षाको अनुगमन गर्नुपर्ने, बालविकास कक्षाकालागि स्रोत सामग्रीहरुको व्यवस्था हुनुपर्ने र त्यसका लागि कोहलपुर नगरपालिकाले उपलब्ध गराईएको सामानहरु संरक्षण कतिपय बालविकास केन्द्रहरुमा नभएको पाईएको बताएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले बालबालिकाहरुको संरक्षणका लागि विशेष नीति लिन आवश्यका रहेकोमा जोड दिएका छन् । साथै स्याक नेपालका जगदिश थापाले बाल विवाह रोकथाम परियोजना अन्तर्गत गरिएका कामहरुको बारेमा जानकारी दिएका थिए । साथै उनले स्याक नेपालले बाँके जिल्लामा १ सय ५२ वटा घटनाहरु रोक्न सफल भएको, जिल्लाका ५ वडालाई बालविवाह मुक्त गर्न सहकार्य गरिएको बताउँदै किशोरी क्लब, धार्मिक गुरु, अभिभावकसँग सम्बन्धीत भएर विभिन्न क्रियाकलापहरु गरिएको बताएका छन् । माईते नेपालकी पुष्पा सुनारले महिला तथा बालबिलाका सँग केन्द्रित भएर काम गर्ने भएकाले कोहलपुर नगरपालिका भित्रका १५ वटै वडाहरुमा बालबालिका तथा किशोरीहरुलाई विभिन्न कार्यक्रमहरुमा गरिएको बताएकी छिन् । समाज सुधार नेपालका शंकर न्यौपानेले बालबालिकासँग उपप्रमुख कार्यक्रममा संचालन गरिएको बताउँदै सामुदायिक विद्यालयमा केन्द्रित भएको तर संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग पनि विभिन्न कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको बताएका छन् । कोहलपुर नगरपालिका बाल संजालका अध्यक्ष रमेश बिकले बालबालिका विरुद्ध हुने विभिन्न प्रकृतिका घटनाहरुका विरुद्ध बालबालिकाहरुलाई सचेत गराउने काम गरिएको बताएका छन् । कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाकी अधिकृत रिना थापाले कोहलपुर नगरपालिकाले बालबालिकाहरुका पक्षमा काम गर्ने विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको बताईन् ।

खबर एक्सप्रेस