आज:  | Fri, 06, Aug, 2021

दैलेख जिल्लाको सँक्षिप्त परिचय

२०७८, २२ असार मंगलवार १४:५० मा प्रकाशित ( १ महिना अघि) १९८५ पाठक संख्या

दैलेख जिल्ला साविकको मध्यपश्चिम,भेरि अँचल हाल कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । दैलेख जिल्ला कर्णाली प्रदेश क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाको वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाध, रामघाट बजार रहेका छन् । प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तिब्रतर रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन् । जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालिकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानिय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको खनन तथा प्रसोधन भैरहेको छ। यसै गरी दैलेखमा चुनढुङ्गा र अभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाई रहेको छ। जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ
इतिहास
दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमा पाइन्छ । जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ । बि.सं.२००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए । राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरिएको थियो। दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणा कालका पहिला प्रधान मन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउँ भनेर पनि चिनिन्छ। दैलेख जिल्लाले २००७ सालको क्रान्तीमा पश्चिम नेपालको लागी अग्रणी स्थानमा छ।
यस जिल्लाको नाम दैलेखको उत्त्पत्ति बारे निम्नानुसारका किंवदन्तिहरू पाइन्छन्
पौराणिक कालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट “दधिलेक” नाम रहन गएको र पछि अपभंस हुदै दधिलेकबाट दैलेख नाम रहन गएको
यो क्षेत्र देवताहरूको निवासस्थान भएकोले यसलाई देवलोक भनिन्थो। पछि अपभ्रंस हुदै दैलेख नामाकरण हुन गएको
यहाँ प्रशस्त मात्रामा दहि-दुध पाइने भएकाले “दहिलेक” भनिदै गइ पछि दैलेख नाम रहन गएको भन्ने छ।
भौगोलिक अवस्थिती
सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)
भूगोल
राजनीतिक हिसावले यस जिल्लालाई ७गा.पा, ४ नगरपालिका, २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ:- [१] नदी तटदेखि हिमालयसम्म फैलिएको यहांको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ:
नदी निर्मित तट (५४४–१०००मि.),
मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)
यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन। मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसङ्ख्या बस्दै आएकाछन
पर्यटन
जिल्लाको मध्यपश्चिम हुदै बग्ने छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दैलेख जिल्लाको सबैभन्दा आकर्षक भौगोलिक स्थल मानिन्छ। खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेख दुल्लुक्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला जी राष्ट्रिय स्तरकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा चर्चित छन्। दैलेख जिल्लाको भुर्तीमा रहेका २२ वटा देवललाई विश्व सम्पदा सूचीमा राखिएको छ यस्तै रावतकोटमा रहेको पञ्चदेवलहरू दैलेख जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङ्गेनी दरबार, जंग बहादुर राणाका पिता बाल नरसिंह कुवँरको समाधीको नामले चिनिने मासको पिठोको लिउन लगायर निर्माण गरिएको बालेश्वर मन्दिर लगायत अनेकौँ पौराणिक शिलालेखहरू यहाँका प्रमुख पर्यटकिय स्थानहरू हुन्!
अर्थतन्त्र
आर्थिक दृष्टिकोणले यो जिल्लालाई विकट जिल्लाको रूपमा लिइने गरिन्छ यस जिल्लाका सबै प्रमुख व्यापारीक केन्द्रहरूमा यातायातको राम्रो सुविधा छ। जस्तै खड्कावाडा देखी पिपलकोट सम्मको कर्णाली राजमार्गका साथै रानिमत्ता – महावु, चुप्रा – मेहलतोली, तल्लो डुङ्गेश्वर – दुल्लु, दुल्लु – कुसापानी, दैलेख – दुल्लु, रामघाट – सिंगासैन, दैलेख – नौमुले जस्ता करिब ६०० कि.मी. भन्दा बढी अधिकांश ग्रामिण सडकहरू सञ्चालनमा आइ सकेका छन्। दैलेख जिल्लामा २५ सैया युक्त जिल्ला अस्पताल उपलब्ध छ। यसका साथै प्रतेक गा.वि.स.मा स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र प्रसुतीगृहहरू निर्माण भएका छन्। करिब ६१% शाक्षरता रहेको यस जिल्लामा हाल ४ वटा क्याम्पस, १५ वटा उच्च माध्यमिक विद्यालय, ५० वटा माध्यमिक विद्यालय, १०६ वटा निम्न माध्यमिक विद्यालय, ४१० वटा प्राथमिक विद्यालय र ५ वटा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन्।
पर्यटन विकासकालागि पूर्वाधार निर्माण र प्राकृतिक सम्पदाको संरक्षण
मानव सभ्यताको विकाससँगै निर्माण भएका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पुरातात्विक सम्पदा तथा प्राकृतिक रूपमा नै विशिष्ट स्थान र महत्वकारूपमा रहेका सम्पदाको संख्या नेपालमा धेरै छन्। त्यसमा पनि दैलेख जिल्ला त्यस्तो विशिष्ट स्थान कायम गरेको जिल्ला हो जहाँ धार्मिक सांस्कृतिक र ऐतिहासिक रूपमा भिन्नै खालको पहिचान दिन सक्ने निरन्तर बलिरहने ज्वालाहरूको क्षेत्र खस सभ्यताले सृजना गरेका पुरातात्यिक र ऐतिहासिक धरोहरहरू भएको क्षेत्र हो। यस क्षेत्रका नागरिकको बढ्दो क्रयशक्ति विविधता भित्र रमाउने चाहना राजनीतिक सामाजिक आर्थिक तथा साँस्कृतिक रूपान्तरण उन्मुख वर्तमान समाज विशेषको कारणले दैलेखमा पर्यटकीय संभावना प्रचुरमात्रामा रहेको छ। यसमा मात्र आवश्यकता रहेको छ गुणस्तरीय पूर्वाधार निर्माण र दृढ पहलकदमीको। नागरिकको बढ्दो आवश्यकता र माग परिपूर्तिका लागि सार्वजनिक निकायहरूबाट वस्तु र सेवा प्रवाह गरेजस्तै पर्यटन विकासकालागि पूर्वाधार निर्माण यसको संरक्षण र प्राकृतिक संपदाको संरक्षण तथा प्रचार प्रसारको आवश्यकता पर्दछ। नेपालको ऐतिहासिक धार्मिक र पर्यटकीय जिल्लाको रूपमा परिचित यस जिल्लाका राजनीतिक दलका प्रमुख तथा कार्यकर्ताहरू सरकारी निकायहरू विकासका साझेदार संस्थाहरू गै।स।स सचेत नागरिक समाज नीजि क्षेत्र र नागरिकहरू तथा यसको समावेशी र प्रतिनिधिमूलक समुदायमा आधारित संस्थाहरूको प्रयासको समग्रताबाट नै पर्यटन क्षेत्रमा फट्को मार्ने गरी विकास संभव हुन्छ। पर्यटन आफैमा विकासको एउटा पाटो हो भने पर्यटन विकासकालागि पूर्वाधार अनिवार्य शर्त हो। यसै सेरोफेरोमा रहेर दैलेखलाई यसरी हेर्न सकिन्छ
दैलेख जिल्लामा उद्गम भएका विभिन्न जातीहरू
दैलेख जिल्लालाई विभिन्न जात जातीहरूको उद्गम स्थलको रूपमा पनि लिन सकिन्छ किन भने यो जिल्लाका विभिन्न स्थलहरू जस्तै :-
दुल्लूबाट दुलाल
बासीबाट बस्याल
बडबाट बराल(बडाल)
लम्जीबाट लम्जेल
नेपाबाट नेपाल
लामीछानीबाट लामिछाने
लयाँटीबाट लुईँटेल
भुर्तीबाट भुर्तेल
दवडाबाट दवाडी
पराजुलबाट पराजुली
दहबाट दाहाल
कट्टीबाट कट्टेल
रिजुबाट रिजाल
हुमेगाउँबाट हुमागाई
लम्सुबाट लम्साल
लयाटीबाट लैट्याल
बस्त्याकोटबाट बस्त्याकोटी
लकानन्द्रबाट लकान्द्रे
तोलीपाटाबाट तोलिपाटे तथा यस्तै अन्यठाँउको आधारमा
जातीहरूको उद्गम भएको मानिन्छ । माथी उल्लेखित जातीहरू संसारको जुन सुकै कुनामा बसे पनि आफ्नो उद्गम स्थानको रूपमा दैलेख जिल्लालाई चिन्दछन्। उनीहरूलाई दैलेख जिल्लाको बारेमा राम्रो जानकारी गराएर उनीहरूलाई आफ्नो उद्गम स्थल सम्म पुग्न सहज वातावरण बनाएमा यस जिल्लाको महत्व बढ्न सक्ने छ।
दैलेख जिल्लाका पर्यटकिय स्थानहरू
दैलेख भौगोलिक दृष्टीले पहाडी जिल्ला भएकाले यहाँ थुप्रै पर्यटकिय क्षेत्रहरू रहेका छन् । नेपालकै प्रमुख मानिने पंचकोशी तिर्थस्थल यसै जिल्लामा अवस्थित छ । नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लु स्थित कृतिखम्मका साथै वैज्ञानिकहरूका अनुसार मृत ज्वालामुखि मानिएको धुलेश्वर यसै जिल्लामा अवस्थित छ । साथै नेपालकै चर्चित मानिएको पेट्रोल, ग्याँस तथा मट्टितेलको खानि पनि यसै जिल्ला मिल्न सक्ने सम्भावना छ । प्राचिन मत अनुसार डुन्गेश्वरमा दधिचि ऋषिको आश्रम रहेको विश्वास गरिन्छ ।
यस्तै बैकको लेकलाई महाभारत र रामायणमा बर्णन गरिएको द्रोणाचल पर्बत मानिएको छ । यस्ले पनि दैलेखको महत्व बढाउने देखिन्छ।
दैलेख जिल्लाका संपदा तथा प्रमुख जडीबुटीहरू
विश्वकै दुर्लभ मानिएको शमी र रुद्राक्षको रुखहरू पनि यसै जिल्लामा पाइन्छ । त्यस्तै यो जिल्लालाई काफल, चुत्रो, ऐँसेलु, रातो गुराँस, सेतो गुराँस, सुनगाभा, रक्तचन्दन, टिमुर, हतपसारो, काउलो, पाषाणभेद, अल्लो सल्ला, देवदारू, पाँगर, साल, साज, सिसौ, खयर सतुवा, असुरो जस्ता अनेकौं जडिबुटी तथा वनस्पतिहरूको खानी मानिन्छ। यदी यि अमुल्य वनस्पतीको संरक्षण गरेर यिनलाई लोप हुनबाट बचाएमा यस जिल्लाको पर्यटन विकास हुन सक्ने सम्भावना देखिन्छ।
प्राकृतिक सम्पदाहरू
मदानताल (बिशाला) नाके गुफा (बिशाला)
रामगाड
भुतगाड
कर्णाली नदी
लोहोरे खोला
छामगाड खोला
पादुका खोला
द्वारी झरना
खरिगैरा झरना
लाँकुरी झरना
कुशापानी झरना
खुनगाड खोला
भुवान थान
पञ्चकोशी
शिरस्थान
नाभिस्थान
पादुकास्थान
धुलेश्वर
डुंगेश्वर
कोटिलास्थान
तोलिपाटा मालिका
विन्द्रासैनी मन्दिर
तियाडी थान नेपा
धर्मगद्दी दुल्लु
बालेश्वर दुल्लु
विलासपुर मन्दिर
नारायण मन्दिर
बालेश्वर मन्दिर
वटुकभैरव मन्दिर
दुल्लु कालिका मन्दिर
विनध्यवासिनी मन्दिर
भैरवी
बुकि माईको थान
दैलेख जिल्लाको विभिन्न क्षेत्रमा छरिएर रहेका देवलहरू र अन्य सम्पदाहरू यस प्रकार रहेका छन।
देवलहरू
भूर्तिमा रहेका २२ देवलहरू
रावतकोटमा रहेका देवलहरू
रानीवनमा रहेका देवलहरू
किमुगाउँका देवलहरू
किमुगाउँको एकल देवल
कुइकानाका पञ्चदेवल
कुइकानाका जोडा देवल
भूर्तीका पञ्च देवल
दुल्लु पटाङ्गनीका जोडा देवल
दुल्लु उपरीचैत्य धाराको मुढे देवल
रावतकोटका पञ्चदेवल
लम्जीका पञ्चदेवल
गढी तथा पौवाहरू
प्राचिन दुल्लुकोट
दैलेख बजारको कोतगडी
प्राचिन दुल्लु दरबार
दुल्लु गढी
बाइसे राज्यकालको दुल्लु दरबार
काजी जसपाउथापाको ऐतिहासिक पौवा
वीरखम्बा तथा अभिलेख सथम्भहरू
कीर्तिस्तम्भ
दामुपालको शिलालेख
साउना कार्की र सउका कर्क्यानीको देवल
दुल्लु गढीको अभिलेस्तम्भ
सातखम्ब गमौडी
दुल्लु किर्तिखम्ब नजिक रहेका वीरखम्बाहरू
दुल्लु गैरीपिपलको डाँडामा रहेका वीरखम्बाहरू
दुल्लु पौवा मार्गमा रहेको ठुलो स्तम्भ
दुल्लु गैरीपिपलको सडकमा रहेका वीरखम्बाहरू
दुल्लु पौवा मार्गमा रहेको सानो स्तम्भ
चक्रताको वीरखम्बा
डाँडीमाडीका बाह्रखम्बाहरू
छिउडी पुसाकोटको वीरखम्बा
दैलेख बजारका चारखम्बाहरू
सात्तलाका वीरखम्बाहरू
जम्बुकाँदका वीरखम्बाहरू
दैलेख बजारका दुइखम्बाहरू
जारकोटको वीरखम्बा
खम्मगाडेको वीरखम्बा
रावतकोटको वीरखम्बा
पिपलकोटको वीरखम्बा
धारा तथा नाउलीहरू
भूर्तीको ढुङ्गेधारो
खुर्सानीबरीको ढुङ्गेधारो
पाथरनाउली
कपुरनाउली
कल्याणधारा
गोमती धारा
रानबाडा धारा
रूपसे धारा
सिंहासैनको ढुङ्गेधारा
तिलेपाटा ढुङ्गेधारा
पिपलकोट ढुङ्गेधारा
धौलापडा २२ धारा
रावतकोटको झ्याउ झ्याउ धारा
यि धार्मीक सम्पदाहरूको राम्रो प्रचार प्रसार गरेर यिनको बारेमा सबै श्रव्य तथा दृश्य माध्यमद्वारा यि सम्पदाहरूको जानकारी गराएमा दैलेख जिल्लाको पर्यटन विकास हुन सक्ने देखिन्छ।
ऐतिहासिकक सम्पदा देवल तथा वीरखम्बा अभिलेखहरू
हुनत नुवाकोट देखी भारतको गढवाल सम्मको भु-भागमा विभिन्न ठाउँहरूमा प्राचिन कालमा देवलहरू निर्माण गरिएका छन्। तर सबै भन्दा बढी संख्यामा देवलहरू दैलेख जिल्लामा निर्माण गरिका छन्। स्थानिय जन विश्वास अनुसार महाभारत कालका पात्र पाण्डवहरू द्वारा निर्माण गरिएका भनिने यि देवलहरू किन र कुन प्रयोजनको लागी निर्माण गरिएका हुन् भन्ने आजसम्म कुनै ठोस प्रमाणहरू जुट्न सकेका छैनन्।।
साभार : लक्ष्मण शाही हाल काठमाडौं

खबर एक्सप्रेस