आज:  | Fri, 06, Aug, 2021

जाजरकोटको साईकुवारी ठाकुरजी धार्मिक र पर्यटकीय स्थल फोटोफिचर

२०७८, ३१ जेष्ठ सोमबार ०९:११ मा प्रकाशित ( १ महिना अघि) २८२२ पाठक संख्या

कर्णाली प्रदेशको जाजरकोट जिल्ला स्थित बारेकोटको उत्तरी सिमानामा अवस्थित साईकुवारी ठाकुरजी क्षेत्र धार्मिक हिसाबले पवित्र र पर्यटकीय हिसाबले निकै संभावना बोकेको गन्तव्य स्थल हो । समुद्री सतहबाट अधिकतम ५ हजार मीटर उचाइमा  रहेको ठाकुरजी पाटन क्षेत्रमा दर्जन बढी साना ठुला ताल तलैयाहरु रहेका छन् । यहाँबाट अवलोकन गर्नसकिने कराईचुली हिमाल, कान्जिरोवा हिमाल तथा अन्य सुन्दर घाँसे मैदान, पठारहरुले यहाँ पुग्ने जो कोहीको मनलाई निकै रोमान्चक र उद्वेलित बनाईदिन्छ ।

यहाँ फुल्ने रङ्गी विरङ्गी फुलहरु, पाटनमा चरण चर्दै गरेका घोडा, भेडा, गाइभैसी लगायतका चौपायाको दृश्यले स्वर्गको आभाष दिलाउँछ । यहाँको अमुल्य जडिबुटी, लेकाली वनस्पतिको वास्नाले मान्छेको आधा रोग त्यत्तिकै सन्चो बनाउँछ । यहाँ पाईने विश्वकै लोपोन्मुख रेडपान्डा, हिमाली गिद्ध, चीर काली, डाँफे, कस्तुरी लगायतका पशुपन्छि यहाँका अमुल्य सम्पती हुन् ।

यस क्षेत्रको तीव्र प्रचार र प्रसार गरी सम्बन्धित सरोकारवाला निकायले यहाँ आवश्यक पुर्वाधारहरु जस्तै पदमार्ग, वास बस्ने घर, मन्दिर, आवश्यक स्थानमा सिढी, होमस्टे तालिम, पर्यटकका लागि नक्सा (डिजिटल) उचाई र दुरी संकेत आदि कार्यहरु तत्काल गर्नुपर्ने स्थानियहरुको माग छ । यहाँको पर्यटकिय संभावनाले बारेकोट मात्रै होईन समग्रमा जाजरकोटकै कुल ग्राहस्थ उत्पादनको ग्राफलाई माथि उठाउन सकिने विश्वास लिईएको छ ।

यस क्षेत्रमा क्षेत्रमा पर्याप्त लगानी गरेर जाजरकोटको नयाँ पहिचानलाई स्थापित गर्न स्थानियबासीको माग रहदै आएको छ । यहाँसम्म पुग्नका लागि सबैभन्दा उत्तम सिजन जेठ पहिलो साता देखि असोज मसान्तसम्म मानिन्छ । यहाँ पुग्नका लागि जाजरकोटको खलंगा देखी दहसम्म ४ घण्टा, दहदेखी भेडीगोठ देउरालीसम्म एकघण्टा, ८ देखी १० घण्टा पैदल, लाग्नादेखी भेडीगोठसम्म ४ देखि ६ घन्टा, भेडिगोठदेखी शङ्खदहसम्म एक घन्टा, शङ्ख दहदेखी साईकुवारी ठाकुरजी दुई घन्टामा पुग्न सकिन्छ ।

 

 

 

 

 

श्रोत ः जानकारी र तस्बिर सुरेन्द्र सुमन

खबर एक्सप्रेस