आज:  | Fri, 19, Apr, 2024

गण्डकी प्रदेशसहित देशभर भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम, तीन दिन उच्च सावधानी अपनाउन अनुरोध

२०७८, १३ जेष्ठ बिहीबार १३:५८ मा प्रकाशित ( २ साल अघि) ११५६४ पाठक संख्या

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ ।

पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको छ । अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म गण्डकी प्रदेशसहित प्रदेश १, २, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

ती प्रदेशका तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र मध्यम वर्षाको सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

खबर एक्सप्रेस