आज:  | Fri, 29, Mar, 2024

दुर्लभ र संरक्षित सालक भेटियो

२०७८, ११ जेष्ठ मंगलवार १२:२५ मा प्रकाशित ( २ साल अघि) ८५५७ पाठक संख्या

काठमाडौं । उदयपुर त्रियुगा नगरपालिका वडा–९ गैरुन नजिकैको जंगल क्षेत्रमा एउटा दुर्लभ र संरक्षित जनावर सालक भेटिएको छ । जङ्गलबाट गाउँतर्फ छिरेको सो सालक स्थानीय गाउँलेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सो जङ्गली सालकलाई समातेर सुरक्षित रुपमा डिभिजन बन कार्यालय गाईघाटलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साथै गोरखामा पनि संरक्षित कालो सालक फेला परेको छ । गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ । कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको पौडेलले जानकारी दिए । गोरखा नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ । ‘गोरखामा पहिलो पटक सालक भेटिएको होइन । यस अघि गोरखा नगरपालिका र पालुङटारमा पनि धेरै फेला परेका छन,’ सूचना अधिकारी पौडेलले भने ।

खबर एक्सप्रेस