आज:  | Mon, 25, Mar, 2024

क्रसर उद्योगी, ग्रिल व्यवसायी तथा जलविद्युत् आयोजनामा प्रयोग भएका सिलिण्डर सरकारलाई दिने घोषणा

२०७८, २७ बैशाख सोमबार ०९:४९ मा प्रकाशित ( २ साल अघि) १७५४७ पाठक संख्या

नेपालमा कोरोनाको दोस्रो लहरको संक्रमण बढेपछि यो पटक अक्सिजन सिलिन्डरको चर्को अभाव भई नागरिकको ज्यान समेत जान थालेपछि काम रोकेर भएपनि क्रसर उद्योगी, ग्रिल व्यवसायी तथा जलविद्युत् आयोजना क्षेत्रमा प्रयोग भैरहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले कोरोनाको दोस्रो लहरले स्वास्थ्य संकट देखापरेका भन्दै व्यवसायी मातहत रहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ। देशभर अहिले ६ सय क्रसर व्यवसायीसँग ३५ सयभन्दा धेरै अक्सिजन सिलिन्डर रहेकाले नजिकको स्थानीय सरकार, प्रदेश वा अस्पतालसँग समन्वय गरेर वितरण गर्ने जनाएका छन् । महासंघले क्रसर तथा खानी उद्योगले आ–आफ्नो उद्योगमा रहेका अक्सिजन ग्यासको रित्ता र भरी सिलिन्डरको रेकर्ड राखेर नजिकको स्थानीय तहमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन निर्देशन समेत दिएको छ।
यता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले पनि निर्माणाधीन जलविद्युत् आयोजनाको मेटल वेल्डिङको लागि प्रयोग हुने अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत अस्पताल लगायत क्षेत्रमा उपलब्ध गराउन मातहतका व्यवसायीलाई सार्वजनिक अपिल गरेको छ।

खबर एक्सप्रेस