आज:  | Mon, 14, Jun, 2021

सुदुरपश्चिमको प्रशिद्ध डुब्का बनाउने विधि

२०७८, २६ बैशाख आईतवार ११:४३ मा प्रकाशित ( १ महिना अघि) २०१६ पाठक संख्या

सुदुरपश्चिमको धेरै परिकार मध्ये हरेक घरमा बन्ने स्वादिष्ट मात्र नभई स्वास्थको दृष्टिकोणबाट पनि अतीपौष्टिक प्रशिद्ध परिकार हो डुब्का (Dubka)। डुब्का खास गरी विविध प्रकारको दाल(मसुर, मुङ, रहर, बोडी) आदी भिजाएर बनाएको पेस्टमा दही, गहुँको पिठो, मसला मिसाएर मिसाएर बनाइने सजिलो, साधारण तर विशिष्ट र स्वादिष्ट परिकार हो। डुब्का बनाउँदा दालको पेष्टको बाक्लो झोलमा दालको पेष्टकै मस्यौरा जस्तो डल्लो(डुब्का) हालेर मज्जाले पकाइने परिकार हो।

डुब्का बनाउन चाहिने सामग्रीहरू:

क) मुख्य परिकारको लागि सामग्री:

१)  दाल(मसुर, मुङ, रहर, बोडी मध्ये कुनैपनि  १ कचौरा

२) अमिलो दही १+१/२ कचौरा

३)  गहुँको पिठो १ कचौरा

४)  मसला पाउडर (जीरा, धनियाँ, हिंग,  जाईफल, बेसार आदि इच्छा र उपलब्धता अनुसार)

५) अदुवा र लसुनको पेस्ट

६) हरीयो/रातो खुर्सानी इच्छा अनुसार

७) नुन आफ़्नो आवस्यकता अनुसार

ख) अन्तिममा झान्नको लागि सामग्री:

८) घ्यू १ टेबल चम्चा

९) मसिनो टुक्रा लसुन 

१०) सिङ्गो जीरा 

११) रातो खुर्सानी १/२ वटा

ग) पकाउनको लागि आवश्यक भाँडा :

१२) भएसम्म शुद्ध फलामको कराई – १ वटा  (फलामको कराईमा पकाउँदा अझ स्वाद  बढ्छ, नभए अरु जुन भाँडा पनि हुन्छ)

१३) डाडु/ठूलो चम्चा – १ वटा

१४) गहिरो जग वा केही – १वटा

१५) दही फिट्ने फिरकी वा मिक्सर – १ वटा

१६) झान्नको लागि सानो भाँडा – १ वटा

घ)  डुब्का पकाउन अघी गर्नुपर्ने तयारी:

१) दाल लाई ४/५ घण्टा अघि भिजाएर पिस्ने (दाल पिस्दा नै लसुन, नुन, बेसार, अदुवा आदी साथै हालेर पिस्न सकिन्छ)।

२) पिसेको दालको पेष्टलाई दुई भाग बनाउने।

३) दालको पेष्टको एक भागमा आधा भाग गहुँको पीठो, एक कचौरा दही, आफ़्नो स्वाद अनुसारको नुन, बेसार, मसला र लसुन 

     अदुवाको पेस्ट हालेर मज्जाले फेट्ने र पानी हाल्दै पातलो झोल बनाएर राख्ने।

४)  दालको पेष्टको आर्को बाँकी भागमा बाँकी राखेको गहुँको पीठो, आफ़्नो स्वाद  अनुसारको नुन, बेसार, मसला र लसुन 

     अदुवाको पेस्ट हालेर मज्जाले मुछ्ने  मस्यौरा  बनाउने जत्तिको बाक्लो पेष्ट बनाएर राख्ने।

ङ ) डुब्का पकाउने विधी :

१) फलामको कराईमा पातलो झोल बनाएर  राखेको (३ नम्बरको) हालेर ठूलो आँचको  आगो/ स्टोभमा निरंतर चलाएर उम्लिउन्जेल  पकाउने। 

२)  सावधानी: निरंतर नचलाए दही फाट्ने र  पिँधमा पेष्ट टाँसिएर डड्ने हुन्छ।

३)  राम्ररी उम्लिरहेको झोलामा अब माथि ४ न  अनुसार तयार गरेकाे बाक्लो पेष्टलाई  मस्यौरा जस्तै हातले डल्लो(डुब्का) बनाउँदै  खसाल्दै जाने र नचलाई राम्ररी पकाउने।

४)  सावधानी: डुब्का हालिसकेपछि चलाउन सुरु गरे डुब्का फुट्ने भएकाेले ४/५ मिनेट  पाकेर ठोस हुन दिनुपर्छ ।

 ५)  ४/५ मिनेट पछि फेरी चलाउँदै पिँधमा टाँसिएर नदिएर १५/२० मिनेट लगातार  पकाउनु पर्छ।

 ६)  अन्तिममा पाकेको डुब्कामा अघि झान्न्न  तयार गरी राखेको लागि घ्यू तताएर मसिनो टुक्रा लसुन, सिङ्गो जीरा, रातो खुर्सानी आदी फुराएर हाल्ने ।

अब डुब्का खानको लागि तयार भयाे।

खास गरी डुब्का शुदुर पश्चिमका घरमा चामलको भातसङ्ग खान पाक्ने धेरै  दालको परिकार मध्ये एक परिकार भएतापनि यस्लाई खानाको रूपमा मात्र समेत खान सकिन्छं ।

डुब्काको थप प्रयोग र प्रकार: 

क) खाना अरुचि भएको र दही, प्रोटीन, कार्बोहाइड्रेट आदी खान मिल्ने बिरामीलाई दिँदा अमिलो  दहीको स्वादले खान मन पराउने हुनाले यो full diet कै रुपमा बिरामीलाई खुवाउन सकिन्छ ।

ख) डडेल्धुरार डोटीमा मैले बुझेंसम्म डुब्का बनाउने तरिकामा केही फरक छ । यहाँ बिशेष गरी गहतको पेस्टको झोलमा मासको नीकै ठुला-ठुला  मासको बारा जस्तो चेप्टो डुब्का हालेर पकाउने गरिन्छ, यस्को स्वाद पनि बेजोडको हुन्छ।

 

केही मेरा शुभचिन्तक तथा साथीहरूले डुब्का बनाउने reicepe अनुरोध गर्नु भएको आज पुन हरीयो मुङ्गको डुब्का बनाएर आफुले तयार गर्दा अपनाएको विधि केही फोटो सहीत यहाँहरुलाई शेयर गरेको छु। समय निकालेर सुदुरपश्चिमको स्वादिष्ट, पौष्टिक र प्रशिद्ध डुब्का (Dubka) बनाउने बनाएर स्वाद लिनुहोला र प्रतिक्रिया दिनुहोला धन्यबाद् । 

बैसाख २५, २०७८  महेश्वरी बिष्ट

खबर एक्सप्रेस