आज:  | Thu, 25, Apr, 2024

मलाई रहर छ (कविता)

२०७७, ८ माघ बिहीबार २२:२९ मा प्रकाशित ( ३ साल अघि) २१९४९ पाठक संख्या

                  मलाई रहर छ (कविता) -डा. महेन्द्र मल्ल

ऊ आओस् उसले छोओस् तर नदुखाओस्

उसका हातहरू यति शीतल हुन् कि 

जस्तो छोइएर बहने वायुमा शीतलता हुने गर्छ

उसले स्पर्श गरोस् शरीरभरि तर पीडा नहोस्

उसका अउँलाहरू यति नरम हुन् कि

जस्तो सिमली भुवा नरम हुने गर्छ

उसले डुबुल्की मारोस् छातीभरि तर नबिजाओस्

उसका भावना यति कोमल हुन् कि

जस्तो दही मथेर निक्लेको नौनी कोमल हुने गर्छ

ऊ छाओस् जिन्दगीभरि तर हुकुम नचलाओस्

ऊ मायाको तलाउमा यसरी छचल्केओस् कि

जसरी गौरीमा घिमिरे छचल्किएका थिए

यहाँ फूल बिजेको र गाजल रोएको इतिहास छ

यहाँ मन भत्किएको र विश्वास टुक्रिएको वर्तमान छ

उसले अब गुलाफहरूले घोच्दैनन् भनी

कहिल्यै नतोडिने कसम खाओस्

गालाभरि गुराँस फुल्नै आँटेका बखत् 

पोखेर सौन्दर्य मेहन्दी कुर्तीमा

मलमलको रातो दोपट्टा फहराउँदै

काँडाहरूबीच ऐँसेलु टिप्दै गर्दा

मनमनै प्रश्नको पहाड ठडिन्छ

उसकै मन विषाक्त भैदियो भने

या समाज व्यवस्था खलबलियो भन्दै

कथित् अग्राधिकारका अहंहरू सल्बलाउन थाले भने

या यस्तै यस्तै अभिसप्ततामा

हीनताको कथा आँसुका ढिकाहरूले लेख्नुपर्यो भने

फाटेर आकाशको बादल शरद आउनुको के अर्थ

पूर्णिमाका रातहरूमा चाँदनी मुस्कुराउनुको के अर्थ

त्यसैले ऊ यसरी आओस्

जसरी सूर्यका सुनौला किरणहरूको स्पर्शमा

घरका धूरीहरूको उचाइ नापिदैन

जसरी रङ्गहरूको इन्द्रेणी सजावटमा

भूगोलहरूको सहजता खोजिदैन

यदि प्रेम हारिने युद्ध हो भने

म हार्न तयार छु उसले जितोस्

तर जाति र थर भएर नदीमा बग्न नपरोस्

यदि प्रेम धड्कनहरूको कोलाज हो भने

म धड्किन तयार छु उसले अनुभूत गरोस्

तर वासना भएर बारीका छेउकुनामै

या सहरका गल्लीहरूमै लुछिने गरी

गिद्धहरूको सिनो बन्न नपरोस्

यदि प्रेम समर्पणको सारांश हो भने

म लैलाको रुमानी याद बिर्साइदिन सक्छु

उसले मनको स्वप्निल सहरमा भव्य ताजमहल बनाओस्

तर बधशालाको चौपायाझैँ ढकसँग दाँजिएर

मोलमोलाइको काँटामा कहिल्यै जोखिन नपरोस्

मलाई रहर छ

म बगरको त्यस्तो ढुङ्गा बनूँ जो

कुल्चिइएर पनि फुटाइएर पनि ताछिइएर पनि

मूर्तिको स्वरूप पाएर पुजिन्छ

हो म त्यसैगरी

उसको मायाको मन्दिरमा पुजिन सकूँ।

रचनाकार : मध्यपश्चि विश्वविद्यालयको पूर्व रजिष्टार रचनाकाल: २०७७/१०/०८

खबर एक्सप्रेस