आज:  | Thu, 28, Mar, 2024

भोलिको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीको भरमार

२०७७, ८ माघ बिहीबार २१:५७ मा प्रकाशित ( ३ साल अघि) ६७२८ पाठक संख्या

नेकपा प्रचण्ड माधव नेपाल पक्षको भोलि उपत्यकामा हुने बृहत् जनप्रदर्शनलाई लिएर नेपाल प्रहरीले चासो देखाएको छ । प्रहरी प्रधान कार्यालयले आवश्यक सुरक्षा प्रवन्ध मिलाउन भन्दै मातहतका कार्यालयहरुलाई निर्देशन पनि दिएको छ । मातहतका विभिन्न १२ वटा कार्यालयलाई एकमुष्ठ पत्र पठाउँदै कार्य एवम् अपराध अनुसन्धान विभागअन्तर्गतको कार्य महाशाखाले त्रुटीरहित भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलद्वारा हस्ताक्षरित पत्रमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थप श्रोत साधन र जनशक्ति माग गरेबमोजिम आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

पत्रमा प्रहरीको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयलाई महानगरीय प्रहरी परिसरसंग समन्वय गरी नायव निरीक्षकको कमाण्डमा भीड नियन्त्रण पोशाक फुल गियरसहित सय जना थप प्रहरी पठाउन निर्देशन दिइएको छ । त्यसैगरी प्रहरी प्रधान कार्यालयको कार्य एवम् अअवि सवारी महाशाखालाई दुई वटा वाटर क्यानन,दुई वटा दमकल र दुई वटा राइट कन्ट्रोल भेहिकल माइतीघर र रानीपोखरी कार्यालयमा स्ट्याण्डबाई राख्न भनिएको छ । साथै सबै प्रहरीलाई ल्याउन र लैजान सवारी साधनको व्यवस्था मिलाउन पनि निर्देशन गरिएको छ ।

विपद व्यवस्थापन महाशाखालाई सवारी साधन र आवश्यक हातहतियारसहित एक सय जना प्रहरी पठाउन निर्देशन गरिएको छ भने जनसम्पर्क तथा प्रचारप्रसार ईकाईलाई दुई दुई जना भिडियो तथा फोटोग्राफी टोली माइतीघरमा स्ट्याण्डबाइ रहने गरी पठाउन भनिएको छ । परिचालन कक्षलाई प्रहरी परिचालनको व्यवस्था मिलाउन तथा परिचालन भए नभएको जानकारी लिन भनिएको छ ।

लेखा शाखालाई सवारी साधनमा आवश्यक पर्ने इन्धनको व्यवस्था मिलाउन निर्देशन गरिएको छ । भण्डार शाखालाई आवश्यक पोशाक र हातहतियार उपलब्ध गराउन निर्देशन गरिएको छ । पत्रमा सशस्त्र प्रहरी गण १ लाई महानगरीय प्रहरी परिसरसंग आवश्यक समन्वय गरी सवारी साधनसहित सईको कमाण्डमा ५० जना,प्रहरी विशेष कार्यदल र प्रहरी प्रशिक्षण प्रतिस्ठानलाई ७५-७५ जना प्रहरी खटाउन निर्देशन गरिएको छ ।

प्रहरी अस्पताललाई चिकित्सकसहितको एम्बुलेन्स महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा स्ट्याण्डबाई राख्न निर्देशन दिइएको छ । प्रहरी संगीत विद्यालयलाई १०० जना प्रहरी पठाउन भनिएको छ । उल्लेखित सबै कार्यालयहरुलाई बिहान १० बजेभित्र कार्यक्षेत्रमा पुग्न निर्देशन गर्दै महानगरीय प्रहरी परिसरका इन्स्पेक्टर अनिल अधिकाऱीसंग आवश्यक समन्वय गर्न पनि भनिएको छ ।

खबर एक्सप्रेस