आज:  | Tue, 26, Jan, 2021

दुर्गममा टेलिकमको सेवा विस्तार

२०७७, २६ पुष आईतवार २३:४८ मा प्रकाशित ( २ हफ्ता अघि) १६४४ पाठक संख्या

बागलुङ, २६ पौष ( सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जा र २ बोङ्खानीमा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा बिटियस टावर राखेर सेवा दिइएको टेलिकम कार्यालयले जनाएको छ ।
शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको कार्यालय प्रमुख इञ्जिनीयर केशव शर्माले बताए । यसअघि ती दुवै गाउँमा मोबाइल सेवा सहज थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरको पहुँच पुग्दैनथ्यो ।
मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । अब भने नर्जाका २५० र बोङ्खानीका ३५० घरधुरीमा मोबाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ । नर्जासँगै छिमेकी गाउँ पात्ले, भित्रीवन र बोङ्खानी आसपासका पुस्डाँडा, लसुने, हिजा, लामाचौरलगायतका बस्ती सेवाबाट लाभान्वित भएका छन् ।
स्थानीयवासी मङ्गला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखबहादुर छन्त्यालले मोबाइलमा कुरा गर्न डाँडातिर जानुपर्ने बाध्यता हटेको बताए। “एक वर्षदेखि सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर पनि सेवा शुरु भइसक्यो, हामी सबै खुशी छौँ”, उनले भने ।इन्टरनेटका लागि तत्काललाई दुवै टावरबाट थ्रिजी सेवा सञ्चालन गरिएको वरिष्ठ इञ्जिनीयर शर्माले बताएका छन् । ती ठाउँमा पछि थ्रिजीलाई स्तरोन्नति गरी फोरजी सेवा दिने टेलिकमको योजना छ ।
नर्जा र बोङ्खानीमा अन्य दुरसञ्चार सेवा प्रदायकको समेत अहिलेसम्म सेवा पुग्न सकेको थिएन । वडा नं ६ का वडाध्यक्ष कुलबहादुर छन्त्यालले मोबाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताए । उनका अनुसार तीव्र गतिको इन्टरनेट सेवाका लागि फोरजी विस्तारको काम पनि धमाधम भइरहेको छ । धवलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म ६५ ठाउँमा फोरजी सेवा सञ्चालन भइसकेको छ । बाँकी झण्डै ५० ठाउँमा फोरजी सञ्चालनको तयारी भइरहेको छ । टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा पहिले फोरजी सेवा विस्तार गर्ने गरेको छ । फोरजी सेवाले डाटा र भ्वाइस दुवै सेवामा उल्लेख्य सुधार आएपछि प्रयोगकर्ता पनि सन्तुष्ट बन्न थालेका छन् ।

रासस

खबर एक्सप्रेस