आज:  | Fri, 19, Apr, 2024

सचिवालय बैठकमा मच्चिएको महाभारत: देश बिदेशको सम्पत्ति छानबिन गर्न माग

२०७७, १७ मंसिर बुधबार २३:३७ मा प्रकाशित ( ३ साल अघि) १२५५६ पाठक संख्या

१७ मंसिर २०७७, बुधबार
काठमाडौं : हिजो दिउँसो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पूरै समय यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको १९ पृष्ठको प्रस्ताव फिर्ता गर्न निकै कोशिस गरे। उनले पटकपटक उक्त प्रस्तावलाई स्वीकार गर्दिंन, यो सबैभन्दा पहिले नै खारेजयोग्य छ, यो छलफलको विषय बन्नै सक्दैन, यसलाई खुरुक्क फिर्ता लिन पर्यो, यो सचिवालयको बैठकमा प्रवेश गर्नै सक्दैन, बरु प्रस्ताव पेश गरेकोमा माफी माग्नुपर्यो भनेर अनेक प्रयत्न गरे ।

त्यहिबेला वरिष्ठ नेता माधव नेपालले भने ‘पार्टीको सचिवालयमा प्रस्तुत गरिएको प्रस्ताव यहाँ छलफल नगरेर कहाँ गर्ने ? त्यसोभए हामी सबैले भोमिट (उल्टी) गरौं ! होइन भने सबैले आफ्नो धारणा, बहस, असन्तुष्टि यहिँ पोख्ने हो । कमिटीभन्दा बाहिर गएर छलफल गर्ने भन्ने प्रश्नै आउँदैन ।’

उपाध्यक्ष वामदेव गौतमले पनि ‘लिखित होओस् वा मौखिक छलफल यहिँ (कमिटीमा) गर्नुपर्छ । बरु शिष्ट तवरले गरौं’ भने । वरिष्ठ नेता झलनाथ खनालले पनि त्यहि कुरा राखेका थिय  । महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले भने ‘छलफल गरेपनि त्योभन्दा पहिले सहमति खोज्नुपर्छ’ भन्ने आशय राखेका थियो । उनीहरूले ‘कमिटीभन्दा बाहिरबाट भएपनि पहिले सहमति अनि पछि छलफल गर्नुपर्ने” धारणा राखेको बताइन्छ ।

तर, अरु सदस्यहरूले त्यसरी कमिटीलाई बाइपास गरेर बाहिर वा अन्यत्रबाट सहमति खोज्नुपर्ने धारणामा कडा असहमति राखेका थिए । ‘छलफल, निर्णय र सहमति भनेको विश्वास अभिबृद्धिको लागि गरिने हो । तर, अन्यत्रबाट गरिने सहमतिले कसरी विश्वास अभिवृद्ध हुन्छ ?’ भनेर जिज्ञासा उठाइएको थियो ।

प्रधानमन्त्रीले बहुमतको आडमा आफूलाई ङ्याँक्न खोजेको आरोप लगाएपछि प्रचण्डले शान्तपूर्वक जवाफ दिनुभयो, ‘तपाईं सचिवालयका पाँच जनाको विश्वास जित्न सक्नुहुन्न भने के गर्नुहुन्छ ? एकातिर सचिवालयलाई कोर अफ दि लिडरसिप भन्ने अनि त्यसभित्रको विश्वास पनि जित्न नसक्ने । मूलतः कोर अफ दि लिडरसिप भनेको कम्युनिष्ट पार्टीमा स्थायी समिति हो । तर, तपाईं त्यहाँ जान डराउनुहुन्छ । भनेपछि तपाईं कहाँ जाने ?’।

प्रचण्डको उक्त भनाईपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘पार्टी एकता आफ्नै कारणले सम्भव भएको’ भन्ने पुरानो धारणालाई दोहोर्याएका थिय । त्यसको जवाफ दिँदै प्रधानमन्त्रीलाई वरिष्ठ नेता नेपालले ‘यो तपाईंको व्यक्तिवादी र अहंकाररूपी सोचको उपज हो । एमाले र माओवादीबीच अहिलेको एकताझैँ के त्यसोभए तत्कालीन माले र मार्क्सवादीको एकीकरण केवल मनमोहन अधिकारी र मदन भण्डारीबीच मात्र भएको थियो ? अरु कसैको भूमिका र योगदान नै थिएन ? जो नेता छ त्यसको पहल र नेतृत्व हुनु स्वाभाविक हो । तर त्यसको लागि अरु सबैलाई नजरअन्दाज गर्न मिल्छ ? पार्टीहरूबीचको एकता दुई जना नेताको मात्रै एकता होइन, त्यो बुझ्नुपर्यो’ भनेका थिए ।

नेपालले अगाडि भन्नुभयो ‘यो सहमतिको नाममा दुई जना नेताको मात्रै सहमति कहाँको धारणा हो ? के को सिद्धान्त हो ? त्यो गलत धारणालाई परिवर्तन गर्नुस् । यदि यो बैठकमा दुई जना अध्यक्ष र महासचिव एकातिर र अरु सबै अर्कातिर भएर कुनै निर्णय गरियो भनेपनि त्यो निर्णयलाई तीन जनाले मान्नुपर्छ । तपाईंहरू सुपर (महामानव) होइन र सुप्रिम (सर्वोच्च) पनि होइन । नेकपा दुईजना अध्यक्षको प्राइभेट कम्पनी होइन । यी सबै कुरा बुझ्नुहोला ।’

बैठकमा दुईजना नेता मात्र बसेर गरिएको सहमति कदापी सहमति नहुने र त्यो पनि एक किसिमको गुटबन्दी नै हुने आवाजसमेत उठेको थियो । छलफल र सहमति कमिटीमा र सामुहिकतामा हुनुपर्नेमा धेरै जनाको जोड थियो । मदन भण्डारी फाउण्डेशनको नाममा गरिएका कतिपय कार्य पनि गुटबन्दी नै भएको धारणासमेत छलफलमा उठाइएको थियो । त्यसैमा प्रधानमन्त्रीले सफाइ दिँदै भन्नुभयो- “खै एनजिओहरुले के-के कार्यक्रम गरिरहेका हुन्छन् ।”
“म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न” भन्ने मूलमन्त्र सम्झाउँदै प्रधानमन्त्री झम्टिएपछि प्रचण्डले पनि ‘ केपी शर्मा ओलीलगायत सबै नेताको स्वदेश र विदेशमा रहेका सम्पत्ति छानबीन गरौं’ भनेर प्रस्ताव राखेका थिए । ‘तपाईंका मात्र कुरा छन् ? संसारमा भएको सम्पत्ति खोज्ने हो ? दुनियाँले के भन्छ भनेर अलिकति सोच्नु पर्दैन ? पार्टीमा उठाइएका कुराबाट किन डराउनुहुन्छ ?’ प्रचण्डको प्रधानमन्त्रीलाई प्रतिप्रश्न थियो ।

ओलीले ‘विगतको सहमतिभन्दा बाहिर गएर केही पनि गर्न पाईंदैन’ भन्दै थप्नुभयो ‘तपाईंले पार्टीको लोगो र नामको दुरूपयोग गर्नुभयो’। यसैमा प्रचण्डले पनि कडा जवाफ फर्काउनुभयो ‘त्यसोभए तपाईंले कर्णाली प्रदेश कमिटीलाई लेखेको पत्रचाँहि कुन लोगो र के नाममा थियो नि, त्यसमा एक्लौटी गर्नुभएको होइन ?’ त्यति नभन्दै ओलीले ‘आफूले महासचिवमार्फत् पठाएको’ भन्नासाथ प्रचण्डले ‘त्यसोभए महासचिव तपाईंको मात्रै हो कि मेरो पनि हो ?’ भनेर सोध्नुभएको थियो ।

बैठकमा सामुहिक छलफल, सल्लाह, सहमति र निर्णय नगर्ने हो भने ठीक छ, २५ गतेको लागि तय गरिएको केन्द्रीय समितिको बैठक पनि अहिले नै गरौं भनेर कुरो उठाएपछि प्रधानमन्त्रीले ‘त्यसोभए के मेरो तेजोबध गर्न खोज्नुभएको हो तपाईंहरूले ? त्यहाँ लगेर मलाई अक्करमा पार्न खोज्नुभएको हो ? सबैले झम्टिन र भुक्न खोज्नुभएको हो ?’ भन्नुभयो ।

बरु खाजा छिटो खानुहोस्, बैठकको समय सर्दैन’।

पार्टी कार्यालयबाट हिजोको बैठकस्थल बालुवाटार सारिएको सम्बन्धमा पनि कुरो उठेको थियो । बैठकलाई तीन बजेसम्म सार्न प्रधानमन्त्रीले अनुरोध गरेपनि अरु सदस्यले नमानेको बताइन्छ । प्रधानमन्त्रीले ‘खाजा खाएर तीन बजेपछि बैठक राखौं न’ भन्नुभएको मात्र थियो एकजना सदस्यले फ्याट्ट् ‘बरु खाजा छिटो खानुहोस्, बैठकको समय सर्दैन’ भनेपछि बैठक सुचारु भएको बताइन्छ ।

खबर एक्सप्रेस