आज:  | Fri, 19, Apr, 2024

नेपाल एयरलाइन्सको वाइडबडी अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडानमा अब्बल

२०७७, २० बैशाख शनिबार १५:२९ मा प्रकाशित ( ३ साल अघि) १४०४४ पाठक संख्या

अहिले लकडाउनका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको छ यस्तो अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ। लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बंगलादेश, जापान र अस्ट्रेलियामा चार्टर्ड उडान गर्यो भने चीनको क्वाङ्चौमा चार कार्गो उडान गरेको छ।

निगमले क्रमशः अस्ट्रेलिया, दक्षिण कोरिया र चीनको बेइजिङमा चार्टर्ड उडान गर्दैछ। निगमले अस्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो। आगामी वैशाख २४ गते निगमले अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको जनाएको छ।

निगमका प्रवक्ता अर्चना खड्काले नेपालमा रहेका अस्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्ने निश्चित भएको जानकारी दिईन। निगमले यसअघि चैत १९ गते अस्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडान गरेको थियो। उक्त उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो।

निगमको पुनः अस्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। निगमका प्रवक्ता खड्काका अनुसार काठमाडौँ–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ। काठमाडौँबाट २५० भन्दा बढी यात्रु लिएर जाने वाइडबडी फर्कँदा लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडानको तालिका रहेको छ। 

त्यसैगरी निगमले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ। दक्षिण कोरियाको सिओलमा गत अप्रिल ३० तारिखमा चार्टर्ड उडान गर्ने भनिए पनि उडान सरेको थियो। दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भए पनि कुन मितिमा गर्ने भन्ने यकिन भइनसकेको निगमले उल्लेख गरेको छ। नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ। 

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयानुसार ईपीएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो। सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो।

हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत चैत १० देखि वैशाख १९ सम्म ४० अन्तर्राष्ट्रिय उडान भएका छन्।

खबर एक्सप्रेस