आज:  | Fri, 29, Mar, 2024

अनमोल के.सी लकडाउन के गर्दैछन् त ?

२०७७, १५ बैशाख सोमबार १९:५९ मा प्रकाशित ( ३ साल अघि) २५१४२ पाठक संख्या

पोखरा, सुदीप पौडेल, बैशाख १५ गते

चलचित्र होस्टेलबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका नायक अनमोल के.सी नेपाली सिनेमा क्षेत्रमा दरिलो खम्बा बनेर उभिएका छन् । फिल्म क्षेत्रमा प्रवेश गरेसंगै हिट मुभी मात्र दिएका अनमोलतिर धेरैको चासो समेत बढेको थियो ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले तीन हप्ता लामो लकडाउन घोषणा गरेपछि आम सर्वसाधारणझैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ । वर्षमा विरलै घरमा फुर्सदसँग बस्न पाउने सेलिब्रेटीहरु अहिले परिवारसँग दुःख सुःखका कुरा गरेर दिन समय काटिरहेका छन् । आफ्ना शुभचिन्तकहरुलाई घरमै सावधानी अपनाउन बस्न पनि अपिल गरिरहेका छन् ।

‘लकडाउन’ को समयमा घरभित्रै नजरबन्द हुनु पर्दा कति कलाकारहरु दिक्दार भैसकेका छन् । तर, अहिलेका हटकेक अभिनेता अनमोल केसीको दिनचर्यामा भने खासै असर परेको छैन । किनकि, उनी ‘लकडाउन’ जीवन नै मनपराउँछन् । फिल्मको छायांकन नहुँदा उनी घरभन्दा बाहिर विरलै निस्कन्छन् । बिहान जिम गएर फर्केपछि उनको घरको पर्खालभित्रै दिन वित्छ ।

‘लकडाउन’ हुनुभन्दा अगाडिसम्म उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन निर्देशन दिएपछि फिल्मको छायांकन अनिश्चितकालका लागि रोकियो । फिल्मको छायांकन रोकिएपछि अनमोल घरबाट एकदिन पनि बाहिर निस्किएका छैनन् । आजभोली घरमै फिल्म हेरेर र गीत सुनेर उनको दिन वित्ने गरेको छ ।

उनी फिल्म र म्यूजिकलाई आफ्नो जीवनको महत्त्वपूर्ण अंक मान्छन् । बाल्यकालदेखि नै गीतसंगीतमा रुचि भएका अनमोल अभिनयमा होमिएपछि भने फिल्म हेर्न थालेका हुन् । अहिले उनी फिल्म ‘पारस’ को स्क्रिप्ट पनि अध्ययन गरिरहेका छन् । अफर आएका अन्य फिल्मका स्क्रिप्ट पढेर पनि उनको दिन वित्ने गरेको छ । उनी आफूले पालेको कुकुरसँग पनि केही समय खेल्छन् ।

खबर एक्सप्रेस