आज:  | Sat, 13, Apr, 2024

(Untitled)

२०७६, १७ मंसिर मंगलवार २१:१९ मा प्रकाशित ( ४ साल अघि) १४६९५ पाठक संख्या

मंगलबार नेप्से परिसूचक ३.७५ अंक बढेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। नेप्से र कारोबार रकम दुबैमा सुधार भएपछि लगानीकर्ताहरुको मनोबल केही बढेको छ।
मंगलबार १७२ कम्पनीको ४ हजार ३२६ पटकको कारोबारमा २६ करोड ६८ लाख रुपैयाँ बराबरको १० लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन २३ करोड बराबरको शेयर खरिदबिक्री भएको थियो।
बजार निरन्तर ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको शेयरमूल्य निकै सस्तिसकेको छ। लाभांश घोषणा भइरहँदा सस्तो मूल्यमा शेयर खरिद गर्न केही लगानीकर्ताहरु बजार प्रवेश गरेका कारण यस दिन बजार बढेको हो।
यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १।२७ प्रतिशत बढेको छ। अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गरिसक्दा बीमा कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी छ। जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने अपेक्षाका कारण लगानीकर्ताहरु यस समूहका कम्पनीहरुतर्फ आकर्षित भइरहेका छन्।
यस दिन उत्पादन उपसमूहको १.०३, लघुवित्तको ०.९९, म्युचुअल फण्डको ०.८८, हाइड्रोपावरको ०.६६, निर्जीवन बिमाको ०.५, होटलको ०.४ र बैंकिङ्गको ०.२२ प्रतिशत बढेको छ।
व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.९८ प्रतिशत घटेको छ। त्यसैगरी, अन्यको ०.४३, वित्तको ०.२३ र विकास बैंकको ०.०२ प्रतिशत घटेको छ।
घोडीघोडा लघुवित्तको शेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नोक्सानी व्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको यस लघुवित्तको शेयरमूल्यमा पछिल्लो दिन नकारात्मक सर्किट लागिरहेको थियो।
दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य यस दिन ८.१४, हिमालयन डिष्टिलरीको ५.७०, मिथिला लघुवित्तको ५.६६, जनउत्थान सामुदायिक लघुवित्तको ५.२५ र सिनर्जी पावर डेभलपमेन्टको ५.०६ प्रतिशत बढेको छ।
साल्ट ट्रेडिङ्गको शेयरमूल्य यस दिन ५.४ प्रतिशत घटेको छ। त्यसैगरी, गुराँस लघुवित्तको २.४, बेष्ट फाइनान्सको २.२९, मुक्तिनाथको २.२४ र प्रोग्रेशिभ फाइनान्सको २.०४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंकको संस्थापक शेयर अगाडि रहेको छ। सो बैंकको यस दिन २ करोड ६० लाखभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक र जनउत्थान समुदायिक लघुवित्तको कारोबार रकम १ करोड नाघेको छ।

खबर एक्सप्रेस