आज:  | Mon, 14, Oct, 2019

म एक स्वतन्त्र नेपाली नागरिक हुँ

२०७६, २४ आश्विन शुक्रबार ११:२५ मा प्रकाशित ( ३ दिन अघि) ३२५६ पाठक संख्या

नेता र मिडिया कर्मीहरू बाहेक अन्य नेपाली जनताहरूले चुनावको बेला मात्र विभिन्न राजनीती पार्टीहरूको कुरा गरेको देखिन्छ । मेरो वीचारमा नेपाललाई एक सुत्रमा बाँध्न सक्ने नेपालमा कुनै राजनितिक दल तथा राजनेताहरू छैनन् । हुन त म एक स्वतन्त्र नेपाली नागरिक हुँ । म राजनिती गर्न पनि चाहन्न र राजनितीको कुरा गरेको पनि मलाई मन पर्दैन । मैले राजनितीबाट आज भन्दा ठिक बीस वर्ष पहिले नै हात धोइ सकेको हुं । ४६ सालको बहुदल घोषणा हुँदा म कक्षा ७ मा पढ्थें । प्रजातन्त्र दिवस मनाउने क्रममा, पौष १४ गते राजा विरेन्द्रको जन्मोत्सव माउने क्रममा, कार्तिक २२ गते रानी ऐश्वर्यको जन्मोत्सव मनाउने क्रममा, पौष १ गते संविधान दिवस मनाउने क्रममा, पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउने क्रममा सधैं “हाम्रो राजा हाम्रो देश—— प्राण भन्दा प्यारो छ , हाम्रो भाषा हाम्रो भेष—— प्राण भन्दा प्यारो छ, पञ्चायती व्यवस्था अमर रहोस्, श्री ५ को चाहना —— पुरा होस् जस्ता हामी सबै नेपाली हरूको एउटै नारा थियो । ४६ सालको बहुदल घोषणा भएको भोलीपल्ट विद्यालय गएपछि मात्र मैले नेपालमा पञ्चायती व्यवस्था न रहेको थाह पाएको थिएँ I त्यो बेला हाम्रो गाउँमा सञ्चार माध्यमको पहुँच अहिले जस्तो थिएन गाँउमा कसै कसैको घरमा मात्र रेडियो हुन्थ्यो, सबै सबैसँग रेडियो हुन्नथ्यो । राकम कर्णालीको ईलाका हुलाक कार्यालयमा गोरखा पत्र आउँथ्यो । विद्यार्थी जीवनमा मलाई पढ्नु नै ठूलो कुरो हो भन्ने लाग्थ्यो । त्यसैले म रेडियोमा समाचार कम सुन्‍थें र गोरखा पत्र पढ्दैनथें । त्यही भएर मलाई नेपालमा बहुदल आन्दोलन चलिरहेको थाह थिएन । विद्यालयमा सरहरूले भने पछी मात्र पञ्चायती व्यवस्था को अन्त भएको थाह पाएको थिएँ । मलाई त्यो दिन निकै नरमाईलो लागेको थियो सरहरू र मेरा सबै साथीहरू त्यो दिन निकै खुसी देखिन्थे । मलाई त्यो दिन पढ्न पनि मन लागेन । छुट्टी भए पछि घर फर्कदा बाटो पनि नयाँ र बिरानो जस्तो लाग्न थाल्यो । त्यो दिनको घाम पनि मलाई निकै मधुरो लागिरहेको थियो । मेरो मनमा कता कता नेपालको भविष्य अन्धकार भयो भन्ने कुरा खेल्न थाल्यो । डेरामा गएर अर्नी खाने मन पनि लागेन । होमवर्क बनाउने मन पनि लागेन । त्यो दिन खाना नखाएर भोकै सुतें । डेराका अंकल फुपु र बज्यैले पालै पालो मलाई खाना खान भने । मैले अफुलाई सन्चो छैन खाना खान्न भनेर टालें । बिहान भए पछी खाना खाएर स्कुल आएँ साथीहरू मलाई तिमी कांग्रेस हुने की कम्युनिष्ट हुने भनेर सोध्न थाले । कसैले कम्यूनिष्ट हुनुर्पछ भन्न थाले भने कसैले काँग्रेस हुनु पर्छ भन्न थाले । मलाई अचम्म लाग्न थाल्यो अस्तीको दिन सम्म सबै साथीहरूको एउटै विचार एउटै बाटो थियो भने यो दुई दिनमैं साथीहरूको विचार कसरी फरक फरक भयो ? कसैले कांग्रेस त कसैले कम्यूनिष्ट भन्छन् ? एक दुई दिन पछी हाम्रो स्कुलका साथीहरू ने. क्रा. वि. संघ र ने. वि. संघ गरी दुई वटा समूहमा विभाजित भयौं I समयको माग अनुसार म पनि ने. वि. संघमा लागें । मेरा धेरै मन पर्ने र मिल्ने साथीहरू ने. क्रा. वि. संघमा लागे । दिन प्रतिदिन हामीहरू आमसभा र पार्टी भेलामा जान थाल्यौं । यस क्रममा हामी साथी साथी वीच झगडा पनि हुन थाल्यो । पार्टीकै कुरालाई लगेर मेरो एक दम मिल्ने साथीको र मेरो नै एक दिन भयंकर झगडा भयो । त्यसपछी हामीहरू एक अर्कालाई आफ्नो ठूलो शत्रु मान्न थाल्यौं । घरपरिवारमा पनि पार्टीको कुरालाई लगेर झगडा हुन थाल्यो सधैं एउटै पिपलको रुखमुनी भेला भएर गाउँका विविध विषयमा छलफल गर्ने हाम्रा गाउँलेहरू छुट्टा छुट्टै ठाउँमा भेला हुन थाले । आपसमा झगडा गर्न थाले । मर्दाको मलामी र जिउँदाको जन्ती भएर बसेका हाम्रा गाउँलेहरू कांग्रेस मर्दा कम्यूनिष्ट नजाने र कम्यूनिष्ट मर्दा कांग्रेस नजाने सम्म पनि पुगे । ४८ साल वैसाखमा आम चुनाव भयो । हाम्रो जिल्लाको दुवै निर्वाचन क्षेत्रबाट कांग्रेसका उमेदवारहरू विजय भएर प्रतिनिधी शभामा गए । ३ वर्षमैं मध्यावधी चुनावको घोषणा भयो । ५१ साल कात्तिकको चुनावमा मेरो विचार परिवर्तन भयो । यस पटक हामीले ने. म. कि. पा. का उमेदवारलाई जितायौं । ने. म. कि. पा. ले किसानहरूको उथ्थान गर्छ भन्ने कुराले हाम्रो दिमागमा घर बनाएको थियो । चुनाव जितेर गएको एक वर्ष नपुग्दै किसानको मत पाएर विजय भएका विनोद कुमार शाह एमालेमा प्रवेस गरे । बावुराम भटराईले ५१ सालको चुनावलाई बहिष्कार गरेका थिए । त्यसको केहि समय पछि कालिकोटको कुमाल गाउँमा माओवादीहरूले हवल्दारलाई मारेको समाचार सुनेर मेरो मनमा निकै भय उत्पन्न भयो । नेपाली नेपाली वीच मारामार चलेर नेपाल नष्ट हुने संकाले पिरोल्यो । ५४ साल तिर मेरो भेट एक जना माओवादीसँग भयो । उनको कुरा सुन्दा मलाई गरिबहरूले आफ्नो अधिकार सत्तासंग मागेर हैन खोसेर लिनुपर्छ भन्ने लाग्यो । म आफ्नो अधिकारको लागि बन्दुक उठाउन वाद्य भएँ । सायद हाम्रो ठाउँमा माओवादीको नाम परेको पहिलो व्याक्ती म नै होला । मैले बन्दुक उठाएको देखेर मलाई मेरा आपन्तहरूले तिरष्कार सम्म गरे । ५६ साल जेठमा मेरो घरमा दुई जना माओवादीका ठूला नेताहरू पुगे । उनिहरू ठूला नेता हुन् भन्ने कुरा त मलाई थाह थियो तर को हुन् भन्ने थाह भएन । उनिहरूले मलाई आन्दोलनमा खटी रहन सल्लाह दिए । उनिहरू कालेकोटको भ्रमण गरेर आएका थिए । दुई दिन सम्म मेरो घरमा बसे पछी मैले उनिहरूलाई दैलेखका साथीहरूसँग सम्पर्क गराएँ । हाल आएर मात्र मलाई थाह भयो उनिहरूमा एक जना नेत्र विक्रम चन्द र अर्का पोष्ट बहादुर बोगटी रहेछन् । उनिहरूको विधाईको १ घण्टा न बित्दै हाम्रो गाउँमा दंगा प्रहरीको जत्था पुग्यो । उनिहरू मलाई नै खोजीरहेका थिए । म आफ्नो ज्यान बचाउन घरबाट भागें । मैले त्यसै दिन देखि राजनिती र पार्टीको कुरा गर्ने काम जिवनमा कहिल्यै पनि नगर्ने कसम खाएँ । त्यो दिन देखि मलाई राजनितीको “र” पनि मन पर्दैन । म एक स्वतन्त्र नेपाली नागरीक हुँ , मलाई सुन्दर शान्त नेपाल चाहिन्छ । “जहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ” भनेर हामीहरूले सामूहिक रुपमा गाएको राष्ट्र गान मलाई अझैं याद छ । नेपालका सबै राजनिती पार्टी तथा नेपालका सबै नेताहरू विदेशी शक्तीको इसारामा नाच्दैछन् । मलाई थाह छ मेरो यो पोस्ट कसैले पनि मन पराउने छैनन् । विदेशी शक्तीले कहिल्यै पनि नेपालको भलो चाहन्न । जब सम्म नेपालमा राजतन्त्र थियो, तबसम्म नेपालमा विदेशी शक्तीले आँखा उठाएर हेर्न पनि सक्दैनथ्यो । यदी विश्वमा नेपाल भन्ने एक देश छ भनेर दिगो समयसम्म देख्न चाहनु हुन्छ भने नेपालमा पुनः राजतन्त्र आउनु पर्छ भन्ने मलाई लाग्छ । यदि नेपाललाई विदेसीको हातमा सुम्पिनु छ भने आफ्नो व्याक्तीगत स्वार्थ पुर्तिको लागि जति सुकै राजनिती गर । जो सच्चा नेपाली नागरीक हुन्छ उसलाई देशको चिन्ता अवस्य छ तर जो गैर नेपाली नागरीक छ त्यसले आफ्नो स्वार्थ पुर्तिका लागि राजनिती गरिरहेको छ । राजनिती गर्ने व्याक्तीहरूलाई कुनै न कुनै स्वार्थ छ कसैले दाम कमाउन त कसैले नाम कमाउन राजनिती पेसा अपनाउछन् । पार्टी फेरे पनि उनीहरूले अनुहार र विचार फेर्दैनन् । बिरालोको छाला ओढेर आए पनि बाघ घातक नै हुन्छ । जनताहरूलाई भ्रम जालमा फसाएर देशको भविष्यसँग खेलवाड गर्ने स्वार्थी नेताहरू चुनावको समयमा जनताहरू सामु हात जोर्दै हिंड्छन्‌ भने आफ्नो स्वार्थ पुरा भएपछी जनताहरूले जति हात जोरे पनि नमस्ते फर्काउँदैनन् । उल्टै देशको भविष्य माथी खेलवाड गर्दै हिड्‌छन् । त्यसैले त्यस्तो पार्टीलाई छान्नु आवस्यक छ जसले नेपाललाई विदेशी शक्तीको हातमा जानबाट बचाउन सक्छ । मेरो पार्टी र तेरो पार्टी, मेरो धर्म र तेरो धर्म, मेरो जात र तेरो जात भन्दै काटाकाट मारामार गर्नु, आमसभा र र्‍यालीहरूमा घाँटी सुक्ने गरी भाषण दिनु र नारा लगाउनु हाम्रो मुर्खता हो । मैले व्यक्त गरेको मेरो व्यथा मेरो मात्र नभएर अधिकतर नेपालीहरूको व्यथासँग मेल खान्छ होला ।

राम प्रसाद जोशी दैलेख हाल हरिद्वार

खबर एक्सप्रेस