आज:  | Fri, 29, Mar, 2024

आजबाट टेलिकमको फोर जी सेवा सातै प्रदेशमा शुरुवात

२०७६, १५ आश्विन बुधबार २३:०५ मा प्रकाशित ( ४ साल अघि) १७८८८ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले सातै प्रदेशमा आजबाट शुरुवात गरेको फोर जी सेवा विस्तारको उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘भन्नुभयो ‘अस्तिको दिन हामीले एउटा नयाँ घोषणा गर्‍यौं खुला दिशामुक्त क्षेत्र । यसले हामीलाई सभ्यताको उचाईमा लग्यो । हजारौं वर्षदेखिको पछौटेपन अन्त्य गरेको छ । यो सानो कुरा होइन ।’ उहाँले भन्नुभयो ‘ आज फेरि सातै प्रदेशमा फोर जी सेवाको विस्तार गरेका छौं, यो महत्वपूर्ण उपलब्धि हो भन्नु भयो ।
टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । प्रदेश नं १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ ।

यस्तै प्रदेश नं २ को जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ । प्रदेश नं ३ को धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा तथा गण्डकी प्रदेशको पर्वत, कुश्मा र बाग्लुङमा पनि सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ ।

प्रदेश ५ को तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरियामा सेवा सञ्चालनमा आएको छ ।

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पु¥याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले रु १८ अर्ब खर्च गरेको छ । टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौँ र बुटवलमा राखेको छ । टावरको फाउन्डेशन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ ।

के हो फोरजी सेवा

फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिक रुपमा शुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो ।

फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले १०० एमबिपिएस गतिको इन्टरनेट सेवालाई फोरजीका रुपमा मानिएको छ ।

फोरजी प्रविधिअन्तर्गत टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलगअलग फ्रिक्वेन्सी ब्यान्डमा सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । फरकफरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ ।

कसरी गर्ने ‘एक्टिभेट’

टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ । थ्रिजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन् ।

खबर एक्सप्रेस