आज:  | Sat, 20, Aug, 2022

साउदी अरबका खेलाडी चढेको विमानमा आगजनी

२०७५, ६ असार बुधबार ०२:२० मा प्रकाशित ( ४ साल अघि) २७९७८ पाठक संख्या

एजेन्सी। भोलि उरुग्वेविरुद्ध रोस्तोभमा हुने विश्वकपको आफ्नो दोस्रो खेल खेल्नका लागि सेन्ट पिटसबर्गबाट रोस्तोभ जाँदै गरेका साउदी अरबका खेलाडीहरु चढेको विमानमा आगो लागेको छ । एसियन एयरलाइन्सको एयरबस जेटमा प्राविधिक गडबढी आएका कारण विमानमा आगो लागेको बताइएको छ ।
सोमबार राती भएको दुर्घटनामा सबै खेलाडी सुरक्षित रहेको समेत अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । विमानमा प्राविधिक गडबडी देखिएको केही समयमै आगो लागेको थियो । यद्यपि पाइलटले सुझबुझका साथ रोस्तोभ विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराएका छन् । विमानमा कति जना सवार थिए भन्ने विषयमा विस्तृत जानकारी आइसकेको छैन ।
साउदी अरबका खेलाडी चढेको विमानमा आगजनी
अन्तर्राष्ट्रिय मिडिया ‘द गार्डियन’का अनुसार विमानको बाहिरी भागमा आगो देखिएको थियो । रिपोर्टका अनुसार आगो इन्जिनको नजिकै लागेको थियो । यो घटनाका केही भिडियो पनि भाइरल भएका छन् । यी भिडियो विमानमा बसेका खेलाडी र यात्रुले बनाएको बताइएको छ । भिडियोमा विमानको एउटा विंगमा आगो लागेको देखिएको छ ।

एसियन एयरलाइन्सले भने विमानमा आगो लागेको कुरा अस्वीकार गरेको छ । एयरलाइन्सले विमानमा चरा ठोक्किएका कारण इन्जिनमा खराबी आएको दावी गरेको छ । साउदी अरब फुटबल फेडरेशनले ट्वीट गर्दै भनेको छ ‘हामी सबैलाई आश्वस्त पार्न चाहन्छौं कि विमानमा प्राविधिक खराबीको घटनापछि टिमका सबै खेलाडी सुरक्षित छन् ।’

खबर एक्सप्रेस