आज:  | Thu, 01, Dec, 2022

मौसमविद् भन्छन: धुलो वर्षादेखि सजक रहनुस्

२०७५, २ असार शनिबार १६:३९ मा प्रकाशित ( ४ साल अघि) ११४०९ पाठक संख्या

असार २ ।
भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा (धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी) भइरहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गएराति पश्चिमबाट प्रवेश गरेको धुलो वर्षा आज काठमाडौँमा पनि भएको छ । उपत्यकामा विभिन्न क्षेत्रमा बिहान र अहिले पनि धुलो वर्षा भएको हो ।

उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एक/दुई दिन जारी रहने मौसमविद् अर्यालको भनाइ छ । ‘धुलोको कण हट्न वर्षा भएर सफा गर्नुपर्ने हुन्छ । यसमा हावाको गति पनि पश्चिमबाट पूर्वतर्फ रहेकाले पूर्वी वायुलाई कमजोर तुल्याएको हुँदा पूर्णरुपमा हट्न केही दिन समय लाग्नसक्छ’  उहाँले भन्नुभयो ।

मौसमविद्को भाषामा ‘डस्ट स्ट्रोम’ भनिने धमिलो वर्षा भारतको राजस्थान, दिल्ली हुँदै नेपाल प्रवेश गरेको सम्भवतः यो पहिलो घटना हो । धमिलो वर्षाले सामान्य अवस्थामा भन्दा स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले सजक रहन पनि विज्ञले सुझाएका छन् ।

खबर एक्सप्रेस