आज:  | Sat, 20, Aug, 2022

बि पि राजमार्ग मा ठूला सवारी चलाउन प्रतिबन्ध

२०७५, २४ जेष्ठ बिहीबार १५:४३ मा प्रकाशित ( ४ साल अघि) १३७६५ पाठक संख्या

जेठ २४ , काठमाण्डौ ।

स्थानीय प्रशासने बीपी राजमार्गमा ठूला गाडी गुडाउन आजदेखि पूर्णरुपमा रोक लगाएको छ । बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । 

सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने यातायात मन्त्री रघुवीर महासेठको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि बिहीबारदेखि ठूला सवारी साधन प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।
‘अहिले सडकको बीचमा परेका र गन्तव्यमा पुग्न नसकेका ठूला सवारी साधनलाई गन्तव्यमा पुग्न दिइने छ’, उनले भने, ‘अन्य इजाजतबिनाका कुनै पनि सवारीसाधन सञ्चालन गर्न दिइने छैन ।’

यसअघि यातायात व्यवस्था विभागको प्राविधिक प्रतिवेदनलार्इ समेत लत्याउँदै मन्त्री महासेठले ‘मनपरी’ निर्णय गर्दै ३२ सिट क्षमताका र १० टन भन्दा माथिका सवारी साधनलाई बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो ।

राजमार्गमा सडकको गुणस्तर उपयुक्त भए पनि चौडाइ साँघुरो भएकाले ठूला सवारी साधन सञ्चालन गर्नु जोखिमपूर्ण हुने भन्दै सर्वसाधरणले महासेठको निर्णयमा तीब्र असन्तुष्टि जनाएका थिए । अदालतको निर्णय स्वागतयोग्य रहेको सिन्धुली गोलञ्जोरका बासिन्दा विवश थापाले पनि बताए । रासस

खबर एक्सप्रेस