आज:  | Sun, 24, Mar, 2024

आईपीएल : हैदराबाद शीर्ष स्थानमा

२०७५, १७ बैशाख सोमबार ०१:५० मा प्रकाशित ( ५ साल अघि) ४४७७८ पाठक संख्या

जयपुर : सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जयपुरमा आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दै हैदराबाद शीर्ष स्थानमा उक्लिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले सात विकेट गुमाएर एक सय ५१ रनको मध्यम योगफल खडा गरेको थियो । तर, उत्कृष्ट बलिङको मद्दतमा राजस्थानलाई एक सय ४० रनमा रोक्दै हैदराबादले जित हात पारेको हो ।

हैदराबादका लागि कप्तान केन विलियम्सनले ६३ रन बनाए । ४३ बल खेलेका उनले दुई छक्का र सात चौका हिर्काए । यसैगरी एलेक्स हेल्सले ४५, मनीष पाण्डेले १६ र रिद्दिमान शाहले ११ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । यसैगरी कृष्णपा गौथमले दुई तथा जयदेव उनाडकट र इस सोधीले एकएक विकेट हात पारे ।

एक सय ५२ रनको मध्यम लक्ष्य पछ्याएका कप्तान अजिक्या रहानेले अविजित ६५ रन तथा प्रारम्भिक ब्याट्सम्यान सन्जु सामसनले ४० रनको योगदान दिए पनि अन्य ब्याट्सम्यान चल्न नसक्दा राजस्थानले पराजय बेहोर्नु पर्‍यो । राजस्थानका लागि महिपाल लोमरुरले ११ तथा जस बटलरले १० रन बनाए । १०औं ओभरमा ७२ रन बनाएर बलियो अवस्थामा रहेको राजस्थानले दोस्रो विकेट गुमाएपछि लय गुमाएको थियो । राजस्थानलाई कम योगफलमा समेट्न सिद्धार्थ कौलले दुई विकेट लिए । यसैगरी सन्दीप शर्मा, बसिल थम्पी, रसिद खान र युसुफ पठानले एकएक विकेट हात पारे ।

जितसँगै हैदराबाद आईपीएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । आफूले खेलेका आठ खेलमध्ये ६ खेल जितेर १२ अंकका साथ हैदराबाद शीर्ष स्थानमा छ । दोस्रो स्थानमा चेन्नई सुपर किङ्स छ । शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्ससँग आठ विकेटले पराजित भएपछि चेन्नईले शीर्ष स्थान गुमाएको हो । चेन्नईले सात खेलबाट १० अंक जोडेको छ । राजस्थानको ६ अंक छ ।

खबर एक्सप्रेस