आज:  | Sat, 20, Aug, 2022

माई भ्याली गोल्डकप : थ्रीस्टार उपाधि नजिक

२०७५, १६ बैशाख आईतवार १२:३६ मा प्रकाशित ( ४ साल अघि) २७५१३ पाठक संख्या

इलाम : अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपमा रुस्लान थ्रीस्टार क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ। इलामको ठूलो टुँडिखेलमा शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले विभागीय टोली एपीएफ क्लबलाई २-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो।

थ्रीस्टारका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा विमल घर्तीमगरले उत्कृष्ट खेल प्रदर्शन गर्दै गोलको खाता खोलेका थिए। ९०औं मिनेटमा विमल घर्तीमगरको लामो पासलाई सदुपयोग गर्दै मार्टिनले डीबक्स एरियाबाट अवसरको सदुपयोग गर्दै दोस्रो गोल गरेका थिए। पहिलो हाफमा थ्रीस्टारका खेलाडी मार्टिनलाई एपीएफका खेलाडीले हातपात गरेपछि केही समय खेल प्रभावित भएको थियो।

थ्रीस्टारका सुनील बलले दोस्रो हाफको मध्यतिर डी बक्सबाट विपक्षीको पोस्टमा गरेको बल गोलपोस्टको दायाँबाट बाहिरिँदा सुनौलो अवसर गुमेको थियो। नीराजन खड्काले पाएको अवसरलाई पनि सदुपयोग गर्न नसक्दा गोल अग्रताको अवसर गुमेको थियो। यस्तै एपीएफका सन्तोष श्रेष्ठले पनि डी बक्सबाट गरेको प्रहार गोलपोस्टको देब्रे साइटबाट बाहिरिएपछि सान्त्वना गोल गर्ने अवसर गुमेको थियो।

एपीएफका प्रशिक्षक गणेश लावतीले टिमवर्क नमिल्दा हार भोग्नु परेको बताए। उनले रेफ्रीले गलत निर्णय गरेकाले आफ्नो खेलाडीको प्रदर्शन नै प्रभावित भएको बताए।

थ्रीस्टारका प्रशिक्षक मेगराज केसीले खेलाडीको उष्कृष्ट प्रदर्शनको कारण फाइनलमा प्रवेश गरेको बताए। खेलको म्यान अफ दी म्याच विमल घर्तीमगर घोषित भए। उनले १० हजार रुपैयाँसहित चाँदीको म्याडल प्राप्त गरे। फाइनलमा थ्रीस्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी वैशाख १७ गते भिड्नेछन्। प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

खबर एक्सप्रेस