आज:  | Sat, 20, Apr, 2024

नेपाल आइडल २ को अडिसन सुरु

२०७४, ६ चैत्र मंगलवार ०४:११ मा प्रकाशित ( ६ साल अघि) ३२३३४ पाठक संख्या

भैरहवा : विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको पहिलो अडिसन मंगलबार भैरहवाबाट सुरु भएको छ।

भैरहवाको अञ्चलपुरस्थित जेसिज किन्डर गार्डेन हाइस्कुलको प्रांगणमा नेपाल आइडलको अडिसन हुँदैछ। भैरहवामा अडिसन सकिएपछि क्रमशः धनगढीमा चैत ११ गते, हेटौंडामा वैशाख ३ गते, धरानमा वैशाख ८ गते, पोखरामा वैशाख १४ गते नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको छ। काठमाडौंमा हुने अडिसनको भने मिति तोकिएको छैन।

एपीवान एचडी टेलिभिजनका डाइरेक्टर सुरेश पौडेलका अनुसार भैरहवा अडिसनमा एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म संगीतप्रेमीहरू सहभागी हुने अनुमान गरिएको छ।

प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी छन्। त्यस्तै अडिसनको सञ्चालन नायक असीम शाह र रीमा विश्वकर्माले गर्ने आयोजकले जनाएको छ। अडिसनको प्रसारण एपीवान एचडी टेलिभिजनबाट हुनेछ।

सन् २०११ मा बेलायतको टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी सो विश्वका विभिन्न मुलुकमा चर्चित छ। बेलायतमा पप आइडलका रूपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर परिचित छ। अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो सोलाई अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो।

खबर एक्सप्रेस