आज:  | Thu, 18, Apr, 2024

नेपालले हङकङलाई ५ विकेटले हरायो

२०७४, २९ फाल्गुन मंगलवार ०२:३१ मा प्रकाशित ( ६ साल अघि) ३३६७३ पाठक संख्या

काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगतको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ ।

हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ५५ बल बाँकी छँदै भेट्टाएको हो । नेपाललाई जिताउने क्रममा नटआउट रहेका रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन बनाए । उनले ८६ बलको सामना गर्दै ५ चौका पनि हाने ।

त्यसैगरी नटआउट रहेका सोमपाल कामीले पनि उत्कृष्ट पारी खेल्दै ४० बलमा ३७ रन बनाए । सुरुवाती ब्याट्सम्यानहरु लगालग आउट भएको अवस्थामा सोमपाल र रोहितले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तीन खेलको पराजयपछि जित दिलाएका हुन् ।

हङकङका लागि इशान खान र ऐज खानले समान २-२ विकेट लिन सफल भए । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको हङकङले ४८.२ ओभर खेल्दै १५३ रन बनाएको थियो ।

हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २/२ विकेट लिए । सोमपाल कामी र ललितनारायण राजवंशीले १/१ विकेट लिए ।

खबर एक्सप्रेस