आज:  | Mon, 15, Apr, 2024

झापा गोल्डकप : पुलिसलाई आर्मीको झट्का

२०७४, २५ फाल्गुन शुक्रबार ०३:३५ मा प्रकाशित ( ६ साल अघि) ३४०५३ पाठक संख्या

बिर्तामोड : जर्ज प्रिन्स कार्कीको फ्री किक गोलको मद्दतले त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले हरायो ।

४३औं मिनेटमा पुलिसका रक्षक अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई डी एरिया नजिकै फल गरेका थिए । त्यसपछि प्राप्त फ्री किकलाई आर्मीका कार्कीले पोस्टको दिशा दिएका थिए । कार्कीले पोस्टको देब्रे बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यही एकमात्र गोलको मद्दतले त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा आर्मीले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल अवधिभर पुलिसले आर्मीलाई दबाबमा राखेको थियो । यद्यपि आक्रमण फितलो बन्दा पुलिसका लागि स्कोर भने हुन सकेको थिएन । १४औं मिनेटमा पुलिसका कप्तान भरत खवासले गरेको हेड पुलिसका गोल रक्षक शत्रुघ्न चौधरीले पञ्च गर्दै फर्काए । १८औं मिनेटमा पुलिसका दिनेश राजवंशीले फ्लिक गरेको बल फितलो हुँदा आर्मीका गोलकिपर विकेश कुथुले सजिलै विफल पारेका थिए ।

२७औं मिनेटमा आर्मीका नीरकुमार राईले गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरिएको थियो । ३०औं मिनेटमा पुलिसका रेजिन सुब्बाको हेड पनि बाहिरियो । ५९औं मिनेटमा पुलिसले डीएरिया बाहिरबाट पाएको फ्री किक आर्मीका डिफेन्सले गोल लाइनबाट बचाएका थिए । ६५औं मिनेटमा भरत खवासको क्रस पासमा जर्ज प्रिन्स कार्कीले गरेको हेड पुलिसका गोलकिपर शत्रुघ्न चौधरीले बचाएका थिए ।

८२औं मिनेटमा अजित भण्डारीले गरेको हेड बल विकेश कुथुले बचाएका थिए । लगत्तै पुलिसको अर्को प्रहार पनि विकेशले बचाएपछि पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो । खेलको अतिरिक्त समयमा पदम तामाङले पाएको अवसर गुमाउँदा आर्मी गोलअन्तर बढाउन चुकेको थियो । खेलको म्यान अफ दी म्याच आर्मीका गोलकर्ता जर्जप्रिन्स कार्की घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

खेलपछि आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्ना केही खेलाडी घाइते भएका कारण अपेक्षित खेल पस्कन नसकेको बताए । ‘खेलमा जित निकाल्नु महत्वपूर्ण हुन्छ । पुलिससँगको जित हाम्रो लागि सहज हो’, चुनबहादुरले भने । पुलिसका प्रशिक्षक अनन्त थापाले पुलिसले नयाँ टोली बनाएकोले प्रदर्शनमा अनुभवको कमी देखिएको बताए । ‘खेलाडीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नु पर्‍या’, अनन्तले भने । गोल्डकप विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछ । शुक्रबारको झापा-११ र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खबर एक्सप्रेस