आज:  | Mon, 25, Mar, 2024

सुपर सिक्स पुग्ने नेपालको सम्भावना जीवितै

२०७४, २५ फाल्गुन शुक्रबार ०३:३१ मा प्रकाशित ( ६ साल अघि) ३४६१७ पाठक संख्या

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको बिहीबार जिम्बाबेमा खेलिएको स्कटल्यान्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको छ । एक सय ५० रनको मध्यम लक्ष्य पछ्याएको स्कटल्यान्डले ५१ बल बाँकी रहँदै जित हात पार्‍यो । लगातार दोस्रो खेलमा पराजित भए पनि नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना भने जीवितै छ । आफ्नो पहिलो खेलमा नेपाली टोली जिम्बाबेसँग पराजित भएको थियो ।

स्कटल्यान्डलाई जित दिलाउन कप्तान कायल कोइट्जरले अविजित ८८ रन बनाए । एक सय ३६ बलको सामना गरेका कोइट्जरले तीन छक्का र सात चौका हिर्काए । क्रेग वालेन्सले १७, कालुम म्याकलिडले १५ र म्याथु क्रसले १४ रन बनाए । नेपालका वसन्त रेग्मी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले पनि एक÷एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले लगातार विकेट गुमाउँदा निर्धारित ५० ओभर पनि खेल्न सकेन । नेपाली टोली ४७.४ ओभरमै केवल एक सय ४९ रन बनाउँदै अलआउट भयो । नेपालको पालिमा कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । वसन्त रेग्मीले अविजित २४ रनको योगदान गरे । ७५ बल खेलेका पारसले १० चौका प्रहार गरे । ५१ बल खेलेका वसन्तले एक चौका हिर्काए । यसैगरी सोमपाल कामी १८, रोहितकुमार पौडेल १५ र सन्दीप लामिछानेले ६ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले एक र दिलीप नाथ चार रनमा आउट भए ।

स्कटल्यान्डका बलर स्टुवार्ट ह्वाइटिंगमले तीन विकेट लिए । सफ्यान सरिफ र अलास्दायर इभन्सले दुई÷दुई तथा रिची वेरिङ्टोन र टम सोलले एक÷एक विकेट हात पारे ।

लगातार तीन खेल जितेको स्कटल्यान्ड ६ अंकसहित समूह ‘बी’को पहिलो स्थानमा छ । नेपालले सुपर सिक्स चरणमा पुग्ने आफ्नो बाँकी दुई खेलम अफगानिस्तान र हङकङलाई हराउनुपर्नेछ भने अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

समूह ‘ए’ र ‘बी’का शीर्ष तीन÷तीन टोलीले सुपर सिक्स चरणमा पुगेर विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर एक्सप्रेस