आज:  | Fri, 29, Mar, 2024

विश्वकप खेल्ने खुशी लिएर फर्कियो क्रिकेट टिम

२०७४, ६ फाल्गुन आईतवार १०:५२ मा प्रकाशित ( ६ साल अघि) ४४९१८ पाठक संख्या

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुरु गरेको झन्डै २२ वर्ष पुगेको छ। सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) ट्रफी खेल्दै सुरु गरेको नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन एकसम्म आइपुगेको छ। यही खुशी दिलाएर नामिबियाबाट नेपाली क्रिकेट टिम शनिबार साँझ स्वदेश फर्किएको छ।

नामिबियामा नेपालले गरेको उत्कृष्ट प्रदर्शनसँगै सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि अन्तिम चरणको छनोट प्रतियोगिता खेल्ने तयारीमा लाग्ने उत्हासका साथ नेपाल स्वादेश फर्किएको हो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सबै नेपाली क्रिकेट टोलीले खुशी साटेका छन्।

नेपाली क्रिकेटले आफ्नो दुई दशकभन्दा लामो अवधिमा नेपाली क्रिकेटप्रेमीलाई धेरै नै खुसी हुने क्षण पनि दिएको छ। सन् २०१० मा त्रिवि क्रिकेट मैदानमा डिभिजन पाँचको उपाधि जित्दा मात्रै होइन, सन् २०१२ मा मलेसियामा डिभिजन चार र सोही वर्ष संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको एसीसी ट्रफीको उपाधि जित्दा समर्थक कम्ता खुसी थिएनन्।

सन् २०१३ मा बर्मुडामा डिभिजन तीन तथा सन् २०१४ मा फेरि डिभिजन चारको उपाधि जित्दा पनि दर्शकको उत्साह चरममा थियो। यसैगरी सन् २०१३ मा यूएईमा भएको छनोट प्रतियोगितामार्फत पहिलोपटक टीट्वेन्टी विश्वकपका लागि छनोट पक्का गर्दा अनि सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपमा नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्दा नेपाली समर्थकको खुसीले सीमा नाघेको थियो। सायद त्यही समय थियो, देशको बिग्रँदो राजनीतिक अवस्थाका कारण विभिन्न बहानामा विभाजित देखिएका मनहरू पनि क्रिकेटको विषयमा एक देखिएको थियो।

दुर्भाग्य ! बंगलादेश विश्वकप खेलेपछि नेपाली क्रिकेटको यात्रा फेरि रोकियो। सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुई प्रतियोगितामा शीर्ष दुईभित्र अटाउन नसक्दा नेपाल अघि बढ्न पाएन। तर, आईसीसीको एउटा निर्णयले नेपाल डिभिजन एकमा भने पुग्यो।

आईसीसीले अफगानिस्तान र आयरल्यान्डलाई टेस्ट टोलीको मान्यता दिँदै उनीहरूको स्थानमा नेपाल र केन्यालाई डिभिजन एकको प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्यिनसिपमा बढुवा गर्ने निर्णय गरेको थियो। सन् २०१५ देखि सन् २०१७ को डिसेम्बरसम्म चलेको च्याम्पियनसिपमा नेपालको प्रदर्शन फेरि खस्कियो।

च्याम्पियनसिपको शीर्ष चार भित्र अटाउन नसक्दा नेपाल फेरि डिभिजन दुईमा घटुवा भयो। त्यसैले पछिल्लो झन्डै तीन वर्ष खस्किएको नेपाली क्रिकेटको प्रदर्शनबाट निराश समर्थक बिहीबार नामिबियामा सम्पन्न डिभिजन दुईको प्रदर्शनबाट खुसी देखिएका हुन्।

फाइनल खेलमा यूएईसँग सात रनले पराजित भएपछि उपाधिबाट वञ्चित भएको नेपालले डिभिजन एक र विश्वकप छनोटमा स्थान सुरक्षित गर्न गरेको प्रदर्शनबाट घरेलु दर्शक मात्रै नभएर अन्तर्राष्ट्रिय क्रिकेट नै रोमाञ्चित भएको छ।

प्रायः खेलहरू असम्भव देखिएको अवस्थामा पुगेर जित निकाल्दा नेपालले अहिलेसम्मकै महत्वपूर्ण सफलता हात पार्न सफल भयो। यससँगै नेपाली क्रिकेट एकदिवसीय टोलीको मान्यतानजिक पनि पुगेको छ।

जिम्बाब्वेमा अर्को महिना हुने विश्वकप छनोट खेलमा नेदरल्यान्ड्सबाहेक एसोसिएट टोलीमध्ये शीर्ष तीनभित्र अउटाउन सके नेपालले आगामी चार वर्षका लागि पहिलोपटक एकदिवसीय टोलीको मान्यता पाउनेछ।

‘टेलइन्डर’को रोमाञ्च

अन्तर्राष्ट्रिय क्रिकेटमा बलरले बलबाट उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताएका उदाहरण धेरै छन्। बलरले ब्याटिङबाट खेल जिताएको उदाहरण भने निकै कमै छन्। डिभिजन दुईमा नेपालले प्रायः खेल बलरको ब्याटिङबाट जित्यो। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक नामिबियाविरुद्ध नेपालले स्पिनर वसन्त रेग्मीको उत्कृष्ट ब्याटिङ प्रदर्शनबाट जित्यो।

डिभिजन एक र विश्वकप छनोट पक्का गर्न जित्नैपर्ने अवस्थामा रहेको क्यानडाविरुद्धको खेल मध्यम गतिका बलर करण केसीको आक्रामक ब्याटिङले जित्यो।

यो दुवै जितमा युवा स्पिनर सन्दीप लामिछानेको भूमिका पनि कम महत्वपूर्ण थिएन। उनले नामिबियाविरुद्ध वसन्त र क्यानडाविरुद्ध करणलाई नियमित रूपमा स्ट्राइक दिएपछि मात्रै जित सम्भव भएको थियो। क्यानडाविरुद्ध त करणले सन्दीपसँग मिलेर अन्तिम विकेटका लागि ५० रनको साझेदारी गरेपछि मात्रै नेपालको जित सम्भव भएको थियो।

ब्याटिङ क्रमको अन्त्यतिर मात्रै क्रिजमा प्रवेशको मौका पाउने यस्ता टेलइन्डर खेलाडीहरूलाई ब्याटिङमा कमजोर मानिन्छन्। उनीहरूको ब्याटिङबाट जित सम्भव हुनु आश्चर्यको कुरा मानिन्छ। कप्तान पारस खड्कालाई पनि यस्तै अनुभव भएको छ। त्यसैले उनले भनेका छन्, ‘लाखौंमा एक वा दुई खेलमात्रै हामी यसरी जित्न सक्छौं तर यही प्रतियोगितामा हाम्रा लागि केही जित त्यसरी नै सम्भव भएको छ।’

युवा आगमनको उद्घोष

त्यसो त नेपाली राष्ट्रिय टोलीमा युवा खेलाडीकै वर्चश्व रहेको छ। कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी र शक्ति गौचन मात्रै टोलीका पाका खेलाडी हुन्। उमेरको दृष्टिबाट शक्तिबाहेक पारस, ज्ञानेन्द्र, शरद र वसन्तलाई पनि युवा नै भन्दा हुन्छ। यद्यपि डिभिजन दुई प्रतियोगितामा उनीहरूभन्दा पछिल्लो पुस्ताका खेलाडीले अझ सशक्त प्रदर्शन गरेपछि अब पछिल्लो युवा पुस्ताको आगमनको दाबी गरिएको छ। यसले युवा खेलाडीलाई प्राथमिकता दिनुपर्ने धारणालाई मद्दत पुग्नेछ।

केही समयदेखि यू–१९ र सिनियर राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीसँगै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि चुनिए। अनि यसै प्रतियोगिताबाट डेब्यु गरेका रोहितकुमार पौडेलले प्रायः खेलमा लोयर अर्डरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली पालिमा ठूलो योगदान पुर्‍याए।

आरिफ सेख, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथलगायत युवा खेलाडीले पनि उत्तिकै राम्रो प्रदर्शन गरिरहेका छन्। युवा खेलाडीहरूको प्रदर्शनबाट प्रभावित देखिएका नेपालका पूर्वकप्तान तथा यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दास भन्छन्, ‘युवा खेलाडीहरूले राष्ट्रिय टोलीमा आफूहरूको आगमनको उद्घोष गरेका छन्।’

सन्दीपको बलिङ र पारसको शतक

पछिल्ला केही प्रतियोगितामा सन्दीपको बलिङ नेपालको जितमा निर्णायक बन्दै आइरहेको छ। अघिल्ला प्रतियोगिताको प्रदर्शनलाई समेत बिर्साउने गरी सन्दीपले डिभिजन दुईमा प्रदर्शन गरेका छन्। विशेष गरी केन्याविरुद्धको एकै खेलमा लिएको पाँच विकेटले उनको प्रभावकारिता थप बलियो देखियो।

प्रतियोगिता सुरु हुनुभन्दा करिब सात दिनअघि मात्रै विश्वकै महँगो र रोमाञ्चक इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डियरडेभिल्ससँग अनुबन्धित भएका उनले बढ्दो आत्मविश्वास देखाए।

उनको पहिलो खेलबाट दिल्लीले नियमित रूपमा निगरानी गरेकाले पनि हुनसक्छ, कुनै पनि खेलमा सन्दीपले मेहनत गर्न छाडेनन्। सन्दीपको बलिङ नजिकबाट नियालेको दिल्लीले ट्विटरमार्फत नियमित रूपमा प्रतिक्रिया पनि दिइरहेको थियो। दिल्लीको समर्थनमा सन्दीप र उनका समर्थक पनि हौसिएको थियो।

यसैगरी कप्तान पारसले प्रतियोगिताको फाइनल खेलमा यूएईविरुद्ध शतक प्रहार गर्दै कीर्तिमानी उपलब्धि हात पारे तर नेपालले उपाधि भने जित्न सकेन। नेपाल अहिलेसम्मको ठूलो उपलब्धि हात पार्नबाट सात रनले चुक्दा पारस भने राष्ट्रिय टोलीबाट तेस्रो शतक प्रहार गर्ने पहिलो खेलाडी बने।

अबको तयारी विश्वकप छनोट

नेपालले अबको १५ दिनपछि नै विश्वकप छनोट प्रतियोगिता खेल्दैछ। नेपालले विश्वकप छनोट पक्का गर्न यसअघि दुईपटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट मान्यता प्राप्त र एसोसिएटमै उच्चस्तरको प्रतियोगिता खेलिसकेको टोलीविरुद्ध खैल्दैछ। १० टोलीबीच २१ दिनसम्म चल्ने प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि छनोट हुनेछन्।

मुस्किल देखिए पनि नेपालले प्रतियोगितामा विश्वकप छनोट पक्का गर्न फाइनल प्रवेशकै लागि खेल्नुपर्नेछ। अनि एसोसिएट्स टोलीमध्ये ९नेदरल्यान्ड्सबाहेक० शीर्ष तीनभित्र पर्ने प्रयास पनि गर्नुपर्नेछ। किनभने आईसीसीले एसोसिएट टोलीका शीर्ष तीन टोलीलाई सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता दिनेछ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतले नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ। नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण मानिएको यो प्रतियोगिताका लागि नेपालले चाँडै नै तयारी थाल्नुपर्नेछ।

खबर एक्सप्रेस