आज:  | Mon, 15, Aug, 2022

रंगीन दुनियाँका मलिन चेहरा

२०७४, ५ मंसिर मंगलवार १२:०४ मा प्रकाशित ( ४ साल अघि) ३८२८१ पाठक संख्या
सेक्सी जिउडाल
बेहद चर्चा
घर, कार, बैंक ब्यालेन्स… विलासी जीवनशैली।
काम, नाम र दामले मालामाल करिअर।
‘नम्बर वान’ को दौडमा झन्डै सबैलाई उछिनिसकेकी बलिउड अभिनेत्री दिपिका पादुकोणसँग के थिएन? एक वर्षअघि फिल्म ‘ह्यापी न्यु इयर’ को क्लाइमेक्स सुटिङ हुँदै गर्दा दिपिकाको सफलताले सगरमाथा चुम्दै थियो। तर, दुनियाँका आँखामा अति सफल, व्यस्त र निष्फिक्री यी सुन्दरी भित्रभित्रै जल्दै थिइन् र आफैंसँग पराजित अनुभूति साच्दै थिइन्। उनलाई किन यस्तो भइरहेको छ, बाहिरी दुनियाँले मात्र होइन, स्वयंलाई समेत कुनै भेउ थिएन।
दिपिकाका व्यवहार क्रमशः अनौठा हुँदै गएका थिए। बिहान उठ्नेबित्तिकै बिनाकारण रिस उठ्थ्यो उनलाई। काममा पटक्कै मन लाग्दैनथ्यो। मान्छेसँग बोल्नै नपरोस्जस्तो हुन्थ्यो। यो अवस्थाबारे उनले कसैलाई भनेकी थिइनन्। परिवारले त केही थाहा नपाओस् भन्ने नै चाहन्थिन्।
समस्या घट्ने होइन, झन्झन् बढिरहेको थियो। उनी यति हैरान भइन् कि अन्ततः यो पीडा कसैलाई नभनी धरै भएन। उनले एक आफन्तलाई यी सबै अनुभूति सुनाइन्। तिनै सहयोगीको सहाराले पत्ता लाग्यो– दिपिका त डरलाग्दो ‘डिप्रेसन’ को सिकार भइसकिछन्, थाहै नपाई मनोरोगको आक्रमण पो सामना गर्दै रहिछन्।
उनले तुरुन्तै मनोविज्ञको परामर्श लिइन् र औषधि पनि। आफू दुरुस्त भएपछि दिपिकाले आफ्नो समस्या र उपचारकथा सञ्चार माध्यममार्फत सार्वजनिक गरिन्। किनकि, उनलाई आँकलन थियो– यो रंगिन दुनियाँका थुप्रै अनुहार यस्तै समस्याले मलिन हुँदै गइरहेका छन्।
बलिउडकी मसलादार अभिनेत्रीको डरलाग्दो कथाले नेपाली अभिनेत्री रेखा थापालाई नराम्ररी झस्कायो। दिपिकाले डिप्रेसनका जुनजुन अनुभव र संकेत बाँडेकी थिइन्, रेखाले त्यसलाई आफ्ना थुपै्र सहकर्मीका अनुहारमा अनुभव गरिन्।
दिपिकालाई कुन अवस्थाले डिप्रेसनमा पुर्‍यायो होला? यस्तो सोच्दासोच्दै उनलाई ती सहकर्मीका सामुन्ने पुर्याइयो, जो केही समयअघि उनीसित पोखिएकी थिइन्। ठ्याक्कै दिपिकाकै जस्तो अनुभूति र त्यसपछाडिका भयावह पीडा बिसाएकी थिइन् ती अभिनेत्रीले रेखालाई, नजिककी सहयात्री सम्झेर। ती अभिनेत्रीले फिल्म क्षेत्रका सबैखाले शोषण सहेकी थिइन् जुन बजारु चर्चामा आइरहन्छन्। डिप्रेसनले सकिन लागेकी ती सहकर्मीको अवस्था, आँसु र बिलौनाका स्वरसहितको अनुहार रेखाका आँखामा निकैबेर घुमिरहे।
रेखा ती अभिनेत्रीको हालत सुनाउँदै गइन्–
‘साँच्चै हृदयविदारक थियो त्यतिबेला उनको अवस्था।’
तिनी रेखालाई आफ्नै ठानेर केही सुनाउन खोजिरहेकी थिइन्, तर ओठबाट शब्द खस्न सकिरहेका थिएनन्।
चुरोट सल्काइन्। लामो–लामो सर्को तानिरहिन्। लगातार तीन खिल्ली सकिन्। तैपनि मुखबाट केही निस्केन।
‘चुरोट त म पनि खान्छु, तर यस्तो किन? यो त अति भो बा!,’ रेखाले आइसब्रेक गर्नैपर्योै।
‘होइन दिदी, आज तपाईंसँग धेरै कुरा गर्नु छ,’ हतास मुद्रामा ती अभिनेत्रीले आफ्ना जे–जस्ता कुरा साटिन्, त्यो ‘फेसन’ र ‘डर्टी पिक्चर’ फिल्मका कथाभन्दा खासै फरक थिएन,’ रेखा सम्झन्छिन्। उनलाई लाग्यो, अभिनेत्रीहरुले जेजस्ता आरोप खेप्नुपरिरहेको थियो, त्यसको भुक्तभोगी हुन् तिनी।
रेखाले ती सहकर्मीका अरु अनुभव सुन्न वाइन पिउन अफर गरिन्। तिनले मानिनन्, बरु हार्ड ड्रिंक नै मगाइन्। ‘दिदी, आज म त्यहाँ गएको भए ती गिद्धले मलाई जसरी पनि लुछ्ने थिए। कुन दिनमा यो क्षेत्रमा आइछु, मर्न सक्दिनँ, बाँच्न पनि गाह्रो भो,’ बोत्तलसँगै तिनी रेखासामु रित्तिँदै गइन्। तिनको कथा अझै सकिएको थिएन।
लर्बरिएको आवाजमा तिनी सुनाइरहेकी थिइन्, ‘दिदी, अरु त अरु, पत्रकार पनि राति भेट्न बोलाउँछन्, पैसा माग्छन्। तिनीहरुको आर्थिक र शारीरिक शोषण कतिन्जेल सहने?’
‘त्यस्तालाई जुत्तैजुत्ताले हानेर प्रेस–मिट गर्नुपर्दैन त?,’ रेखाले बीचैमा उत्तेजित भएर भनेकी थिइन्।
‘त्यति हुति भएको भए किन यसरी रुनुपर्थ्यो र दिदी!’
‘त्यसो भए यो लाइन छाड र बिहे गर,’ रेखाले अर्काे सुझाव तेर्स्याइन्।
एउटा ‘चल्ती’ की हिरोइनको पीडादायी कथा सुनेर दिक्दार लाग्यो रेखालाई। पीडाले थप गाँज्यो भने अझै दुःखदायी अवस्था सामना गर्नुपर्ला भनेर उनले सुरक्षित अवतरणको बाटो देखाइदिइन् तिनलाई। तर, अहिले एउटा प्रतिभालाई संघर्ष गर्न नसघाएर पलायनको बाटो देखाएकोमा भने पछुतो लागेको छ उनलाई। ‘दिपिकाको कथा सुनिसकेपछि तिनलाई मनोविज्ञको परामर्श लिन नसुझाएकोमा भने ग्लानि महसुस भइरहेको छ,’ रेखाले सुनाइन्।
सारा मान्छेका आँखामा रंगिन छ यो दुनियाँ। मनोरञ्जनको दुनियाँ। टिकट काटेर पर्दामा हेर्छन् दर्शक यही दुनियाँ। जसलाई सडकमा निस्कँदा हेर्नेको लाम लाग्छ, हस्ताक्षर लिनेको भिड लाग्छ। जसका रुप र यौवनमा सारा लठ्ठिएका हुन्छन्। रंगिन दुनियाँका तिनै ‘परी’ हरु हेर्दा जस्तो देखिन्छन्, यथार्थमा त्यस्ता हुँदैनन्। धेरैका निजी जीवनको रंग फुंग उडेको हुन्छ, खंग्रंग सुकेको वन तुवाँलोले ढाकेजसरी। सारालाई खुसी पार्नेहरुकै खुसी हराएको स्वयं उनीहरु नै पत्तो पाउँदैनन्। सबै छ, तर केही बाँकी नरहेजस्तो।
संसारकी ‘सेक्स सिम्बोल’ बनेकी अमेरिकी अभिनेत्री मार्लिन मुनरो हुन् वा भारतीय फिल्ममा धुम मच्चाएकी सिल्क स्मिता, सफलताको गह्रौं भारी सम्हाल्न नसकेरै संसारबाट बिदा भए। बलिउडकै अभिनेत्री जिया खानलाई २५ वर्षको यौवन नै पट्यारलाग्दो भयो र आत्महत्या गरिन्। दिपिकाजस्ती ‘नम्बर वान’ को हालत सार्वजनिक भइहाल्यो।
खबर एक्सप्रेस