आज:  | Fri, 29, Mar, 2024

प्रशान्त ताम्राकारः ‘ऐश्वर्य’का ‘ह्यान्डसम भिलेन’

२०७४, २६ आश्विन बिहीबार ०६:११ मा प्रकाशित ( ६ साल अघि) ४१२५२ पाठक संख्या

लामो कपाल, मोटो शरीर, भद्दा संवाद । धेरै नेपाली चलचित्रका खलपात्र चलचित्र भित्र यस्तै परिचय बोकेर अगाडि बढे । चलचित्रको भिलेन भन्ने वित्तिकै यस्तो खालको गेटअप हुनुपर्छ भन्ने मानसिकता केही समय अगाडिसम्म थियो । तर, अहिले यो शैली विस्तारै परिवर्तन हुन थालेको छ ।

चकलेटी अनुहार परेका धेरै पात्रहरु पनि खलपात्र हुन सक्छन् भन्ने सोचाइ विकास हुन थालेको छ । यही भिडमा उदाउँदै छन्, प्रशान्त ताम्राकार । चलचित्र ‘मुखौटा र सम्बोधन’मा काम गरिरहँदा प्रशान्तको परिचय खासै बनेन । ‘मुखौटा’ मल्टिस्टार कलाकारको जम्बो टोली भएकाले प्रशान्त हराए त ‘सम्बोधन’मा उनको क्यारेक्टरलाई नै लुकाइयो ।

तर, कात्तिक ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ऐश्वर्य’ले भने प्रशान्तको करिअरलाई नै बदल्ने देखिएको छ । प्रशान्त आफै पनि भन्छन्-‘व्यवसायिक मुल्यका आधारमा यो चलचित्र मेरा लागि डेब्यू नै हो । म पनि यसबाट निकै आशावादी छु ।’

प्रशान्तलाई अहिले धेरैले एउटा उपनाम दिएका छन्, ‘ह्यान्डसम भिलेन ।’ कस्तो लाग्छ यस्तो सुन्दा, ताम्राकार भन्छन्-‘मलाई त एकदमै खुशी लाग्छ । जब, चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भयो, यसपछि दर्शकले जुन खालको प्रतिक्रिया दिनुभयो यसबाट उत्साह थपिएको छ । मेरो कामबाट उहाँहरु सन्तुष्ट हुनु भयो भन्ने लागेको छ ।’

के तपाइको यो भूमिकाले नेपाली चलचित्रमा ‘खलपात्र’को अर्थ बदलिएला, प्रशान्तले भने-‘त्यहाँसम्म त मैले सोचेकै छैन । तर, यसपटक खलपात्रको परिभाषा बदल्ने काम निर्देशक दिवाकर भट्टराइले गर्नुभएको छ । यो चलचित्रमा मेरो भूमिका नकारात्मक होइन ।’ प्रशान्तका अनुसार, मान्छे होइन कि उसको सोच नकारात्मक हो भन्ने चलचि त्रमा देखाइएको छ । उनले अगाडि थपे-‘मान्छेको सोच नकारात्मक हुँदा त्यसले समाजमा पार्ने प्रभावलाइ चलचित्रमा देखाइएको छ ।’

पहिलो पटक यस्तो भूमिकामा देखिन पाउँदा आफू अत्यन्तै खुशी भएको उनले सुनाए । तर, यो क्यारेक्टर गर्दा त्यती सहज भने नभएको उनले बताए । ‘ऐश्वर्य’को कथावस्तुले आफूलाइ निकै प्रभावित गरेकाले काम गरेको प्रशान्तले अनलाइनखबरलाइ बताए । भने-‘यो फरक कथामा बनेको चलचित्र त म भन्दिन । तर, यसको प्रस्तुती विल्कुल फरक छ । नेपाली चलचित्रमा पहिलो पटक यस्तो चलचित्रलाई विकास गर्ने काम भएको छ ।’

रियल लाइफमा समेत थुप्रै फेशन शोहरु कोरियोग्राफी गर्दै आएका चर्चित कोरियोग्राफर प्रशान्त व्यक्तिगत जीवनसँग चलचित्रको क्यारेक्टर नमिल्ने बताउँछन् । उनी भन्छन्-‘मेरो व्यक्तिगत जीवनसँग चलचित्रको भूमिका मिल्दैन । अहिले मैले आफूलाइ भन्दा पनि ‘राघव’लाई देख्न थालेको छु । मैले अहिले रियल लाइफमा भने ‘राघव’लाइ नै भोगिरहेको छु । चलचित्रको छायांकनमा पनि मलाइ ‘राघव’ नै भनेर बोलाइन्थ्यो ।’

आगामी दिनमा चलचित्र आफूले रोज्नु भन्दा पनि आफूलाइ कुनै भूमिकाका लागि रोजियोस् भन्ने चाहना उनको छ । ‘मेरो लुक्स, गेटअपलाई हेरेर कसैले पात्रको निर्माण गर्न सक्छ भने त्यस्ता चलचित्रमा म बढी आकषिर्त हुन्छु’, प्रशान्त भन्छन् । चलचित्र भित्र आफ्नो भूमिका कथावस्तुलाइ नै वाध्ने भएको खण्डमा काम गर्न रमाइलो हुने उनको वुझाइ छ ।

नेपाली चलचित्रमा ‘ह्यान्डसम भिलेन’को उदय भएको प्रतिक्रिया पाएका प्रशान्त भन्छन्-‘ऐश्वर्य नेपाली चलचित्रका लागि एउटा फरक स्वाद हो । यसले नेपाली चलचित्रलाई अर्को उचाइमा लैजानेमा विश्वस्त छु ।’

खबर एक्सप्रेस