आज:  | Sun, 14, Apr, 2024

‘दयाहाङ जस्तो व्यक्ति आधा शताव्दीमा एकपटक जन्मन्छ’ : नीर शाह

२०७४, ५ मंसिर मंगलवार १२:३४ मा प्रकाशित ( ६ साल अघि) ४३९९१ पाठक संख्या
वरिष्ठ अभिनेता नीर शाह नेपाली अभिनय क्षेत्रका गुरु हुन् । अभिनयको क्षेत्रमा नीरलार्इ अलग्गै राखियो भने सिनेमा क्षेत्र नै अधुरो हुन्छ भनेर मान्ने धेरै छन् । उनै कलाकार नीर शाहले युवा पुस्तामाझ लोकप्रिय नायक दयाहाङ राईको मज्जैले प्रशंशा गरेका छन् । बिहीवार राजधानीमा फिल्म ‘कान्छी’को गीत सार्वजनिक कार्यक्रममा बोल्दै शाहले दयाहाङको अभिनयबाट आफू अझ प्रशिक्षित र दिक्षित हुने मौका पाएको बताए ।
उनले भने, ‘दयाहाङ राई भनेको आधुनिक सिनेमाको अभिनयलाई छुट्टै परिभाषा दिन सकेको व्यक्ति हो । उहाँले अभिनय यसरी मात्र गर्नुपर्छ भन्ने फर्मुलालाई चकनाचुर पारेर अभिनय यसरी पनि गर्न सकिन्छ भन्ने नयाँ परिभाषा स्थापित गर्नुभएको छ । यस्तो व्यक्ति आधा शताव्दीमा एकपटक मात्र जन्मन्छ ।’
‘म दयाहाङको प्रत्यक्ष अभिनय हेर्न लालहित थिएँ, जुन ‘कान्छी’बाट पूरा भएको छ । मैले जति सोचेको थिएँ त्यसभन्दा धेरै पाएँ दयाहाङलाई । उहाँको अभिनयबाट मैले आफूलाई अझ प्रशिक्षित र दिक्षित हुने मौका पाएँ ।’, उनले भने । नीर शाहको छेवैमा रहेका दयाहाङले भने, ‘म उहाँको कुराबाट भावुक भएँ । मलाई उहाँले यसरी मुल्यांकन गर्नुभएको रहेछ’, खुशी लाग्यो ।
फिल्म ‘कान्छी’मा नायिका श्वेता खड्काको पिताको भूमिका निर्वाहा गरेका शाहले आफ्नो अभिनय यात्राको ५० वर्ष लामो करिअरमा ‘कान्छी’ पहिलो फिल्म रहेको पनि बताए । यो फिल्ममा दया, स्वेता, नीर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी लगायतका कलाकारहरुको अभिनय छ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।
खबर एक्सप्रेस