आज:  | Fri, 19, Apr, 2024

असार १५ गते सम्म १५% मात्र रोपाइँ

२०७६, १६ असार सोमबार ०६:५४ मा प्रकाशित ( ४ साल अघि) ३३९१८ पाठक संख्या

रोपाइँ गर्न नपाएपछि पश्चिम नवलपरासीको प्रतापपुरका नरबहादुर चौधरी चिन्तामा छन् । उनी आकाशे पानीको भरमा धान रोप्दै आएका छन् । यस वर्ष प्रशस्त पानी नपरेपछि खेत बाँझो रहेको उनले बताए । शनिबार राति पानी परे पनि पर्याप्त भएन । ‘गत वर्ष असार १५ मा हामीले रोपाइँ सकिसकेका हुन्थ्यौं,’ उनले भने, ‘यस वर्ष समयमा धानको बीउ राख्न पाइनँ, रोपाइँ कसरी गर्नु !’ सिंचाइको प्रबन्ध नहुँदा समस्यामा परेको उनले बताए ।

आकासे पानीको भर पर्ने धेरैजसो किसान मर्कामा परेका छन् । भूमिगत जल सिंचाइ परियोजनामार्फत केही स्थानमा बोरिङ जडान गरिएको छ । तर, त्यो पर्याप्त छैन । धान उत्पादनमा अग्रणी जिल्लामा अहिलेसम्म मुस्किलले १५ प्रतिशत रोपाइँ भएको छ ।

ग्रामीण भेगमा कृषि कार्यका लागि पर्याप्त जनशक्ति नहुनु, कृषि पेसा छाडेर बजारमा गएर परिवारका सदस्य बस्नाले पहिलेभन्दा रोपाइँ गर्ने खेतको प्रतिशत बर्सेनि घट्दो छ । तराई भेगमा आधुनिक कृषि औजार आएको भए पनि प्लटिङका कारण खेतीयोग्य जमीनसमेत बाँझै राख्ने गरेको पाइन्छ । खेती गरेपछि घडेरीका रूपमा जग्गा नबिक्ने डर र मूल्यसमेत घटने भएपछि बाँझै राखेर ग्राहक कुर्ने गर्छन् ।

रोल्पामा ‘विकल्प’

मुलुकभर धान दिवस मनाइरहँदा रोल्पाका स्थानीय तह त्यसको विकल्प खोज्न थालेका छन् । यहाँका स्थानीय तहले दिवस मनाएनन् । निकै कम मात्रामा धान उत्पादन हुने भएकाले विकल्प खोज्न थालेको जनप्रतिनिधिको भनाइ छ । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले उत्पादन थोरै भएकाले विकल्प खोज्नु सही हुने बताए ।

‘धान खेती कम हुन्छ,’ उनले भने, ‘त्यसैले विकल्प खोज्नुपर्ने ठानेका छौं ।’ जनप्रतिनिधिले विकल्पमा मकै, आलु वा जौ दिवस मनाउन सकिने तर्क गरेका छन् । जिल्लाका सुनिल स्मृति गाउँपालिका, रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिकाभित्रका केही गाउँमा बाहेक अन्यत्र धान खेती हुँदैन । जिल्लाको पूर्वी, उत्तरी र पश्चिमी क्षेत्रमा मकै, आलु, कोदो र जौको खेती हुन्छ । त्यहाँका स्थानीले वर्षभरि आलु, जौ र मकैका परिकार खान्छन् ।
खबर एक्सप्रेस